काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि ३ हजार खसीबोका र च्याङग्रा ल्याउने तयारी गरेको छ । विगतका वर्षहरूमा जस्तै खाद्यले सर्वसाधरणलाई सहुलियत दिन ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मीला सुवेदीका अनुसरा यो दशैँका लागि २ हजार खसीबोका र १ हजार वटा च्याङग्रा खरिद गर्ने तयारी गरिएको छ ।
खसीबोका र च्याङग्रा खरिदका लागि ६ करोड ४० लाख रुपैयाँ खर्च गर्ने तयारी रहेको छ । गत वर्ष खसीबोका खरिदका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको थियो । यो दशैँमा खसीबोका किन्न गत वर्षभन्दा ४० लाख बढी रकम छुट्याएको हो ।
हरेक वर्ष दशैँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङग्रा खरीद गर्ने गरेको छ । उक्त खसीबोकालाई बजार मूल्य भन्दा केही कम दाममा विक्री गर्ने गर्दै आएको छ । यो पटक पनि कम्पनीले खसीबोका तथा च्याङग्रा खरिदका लागि संचालक समितिमा प्रस्ताव गरिसकेको छ ।
सूचना अधिकारी सुवेदीले घटस्थापना अघि खसीबोका च्याङग्रा खरिद गरी ल्याइसक्ने बताइन् । उनले हाल मूल्य तोकिनसकेको बताइन् । खरिद भए अनुसार खसीबोकाको मूल्य बजार भाउभन्दा ५ प्रतिशत कम मूल्यमा विक्री गर्ने उनले जानकारी दिइन् ।
‘खरिदको लागि प्रकृया सुरू गरिसकेको छ, घटस्थापना अघि नै खसीबोका ल्याइसक्ने छौँ, मूल्य चाहिँ किसानसम्म कति पर्छ त्यसमा ढुवानी भाडा मिसाएर तोकिन्छ,’ सुवेदीले चाणक्य पोष्टसँग भनिन् ।
खसीबोकाको भाउ धेरै नबढ्ने, च्याङ्ग्राको महँगिने
चौपाया खरिद विक्री संघका अध्यक्ष दीपक थापाले यो वर्ष खसीबोकाको मूल्य धेरै नबढ्ने बताए । उनले जिउँदो खसीबोकाको मूल्य ६८० रुपैयाँ प्रतिकेजीदेखि ७२० रुपैयाँ प्रतिकेजीसम्म पुगे बताए ।
उनले दाङ, राधापुर, डोटी, ओखलढुंगा, इलामबाट आएका खसीबोकाको मूल्य ६८० रुपैयाँ प्रतिकेजी पर्न जाने बताए । यस्तै बैतडी र भारतबाट आएका खसीबोकाको मूल्य ७२० रुपैयाँ प्रतिकेजी पर्ने उनले बताए ।
‘खसीबोकाको मूल्य दुब्लो मोटो हेरेर महंगो र सस्तो पर्न जाने छ, थापाले चाणक्य पोष्टसँग भने ‘च्याङग्राको मूल्य चाहिँ पुरानो जस्तै हुनेछ, खासै फरक हुँदैन ।’
यसवर्ष तिब्बतबाट च्याङ्ग्रा नआउने भएकाले भाउ केही महँगिन सक्ने व्यवसायीहरू बताउँछन् । अहिले नै मूल्य एकीन नभए पनि च्याङ्ग्राको भाउ प्रतिकेजी १५०० देखि २ हजार रुपैयाँ हाराहारी हुने उनीहरूको भनाइ छ ।
दशैंमा काठमाडौंमा ६० हजार खसीबोका चाहिने
काठमाडौंमा दशैँमा मात्र ५० देखि ६० हजारका हाराहारीमा खसीबोका तथा च्याङग्रा आवश्यक पर्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकाल बताउँछन् । पशु सेवा विभागको तथ्यांक अनुसार सामान्य तया काठमाडौंमा दैनिक १ हजार देखि १२ सय खसीबोका तथा च्याङग्रा खपत हँुदै आएको छ ।
देशको ७५३ तहमै खसी, बोका उत्पादन हुँदै आएको छ । देशभर खसीबोका तथा च्याङग्रा गरेर १ करोड ३८ लाख वर्षेनी उत्पादन हुने गरेको उनले बताए । उक्त तथ्यांक अनुसार आवश्यक खपतको माग पूरा गर्न सक्ने उत्पादन रहेको उनले बताए ।
‘हामीसँग पर्याप्त खसीबोका, च्याङ्ग्रा उत्पादन हुन्छ, भारतबाट पनि आउँछ तर, हेल्थ सर्टिफिकेट लिएर आएका लाई मात्र ल्याउन दिएका छाैं,’ ढकालले चाणक्य पोष्टसँग भने ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपन्छी जन्य वस्तु आयातमा स्वास्थ्य परीक्षण र भेटनरी जाँच बिनाका जिउँदा तथा मरेका पशुपन्छी आयात गर्न नपाउने व्यवस्था गरेको छ । भारतबाट आयात हुने पशुपन्छी (खसीबोका, बाख्रा, राँगाभैंसी, भेडा, बंगुर, माछा तयारी कच्चा मासुलगायत)का सामग्री अवैध आयातमा कडाइ भएसँगै नेपालमा भारतबाट पशुपन्छी आयातमा कम भएको छ ।
गत आर्थिक वर्षमा ४५ करोड ६० लाख रुपैयाँ बराबरको खसीबोका तथा भेडा च्याङग्रा आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो मूल्यमा ५१ हजार खसीबोका तथा च्याङग्रा/भेडा आयात भएको थियो ।
दशैँमा बजारमा आउने हरेक खसीबोका, च्याङग्राहरूको भेट्नेरी परीक्षण गराएर मात्र ल्याइने ढकालले बताए । उनले त्यसका लागि हरेक पालिकामा भेटनरी डाक्टरको व्यवस्था गरिएको बताए ।