सेती खोला र मादी खोलामा ४ लेनको आकर्षक पुल निर्माण गरिने

सांकेतिक तस्वीर

काठमाडौं । सरकारले पृथ्वी राजमार्ग विस्तारका क्रममा सेती खोला र मादी खोलामा आकर्षक पुल निर्माण गर्न प्रक्रिया अघि बढाएको छ ।

चार लेनमा सडक विस्तार भइरहेकामा पुल पनि सोही चौडाइमा निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । मादी खोलामा चार लेनको नयाँ पुल बनाउन प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए ।

उनका अनुसार हाल रहेको पुल पुरानो भइसकेको र आयु कम भएको छ । नयाँ निर्माण गर्दा आधुनिक प्रविधिसँगै हेर्दा आकर्षक पुल निर्माण गर्न लागिएको हो । यी दुई स्थानमा पुल निर्माणका लागि दातृ निकाय (एशियाली विकास बैंक) बाट ‘नो अब्जेक्सन लेटर’ आइसकेको छ । उनले भने, ‘उताबाट स्वीकृति आएपछि काम सुरु गरिनेछ ।’

सो योजनाको अवधि आव २०८५/८६ सम्म रहेको छ । ठेक्का अङ्कअनुसार योजनाको लागत रु १३ अर्ब ६२ करोड छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अर्थात् आबुखैरेनीबाट–जामुने भज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेशन कम्पनी लिमिटेडलाई दिइएको थियो । सो ठेक्काको सम्झौता विसं २०७८ वैशाख २ गते भएको थियो ।

कुल ४१.४५ किमीमध्ये १.५२ किमी सहरी क्षेत्र र गैरसहरी क्षेत्रमा ३९.९३ किमी छ । पहिलो ठेक्कामा वित्तीय प्रगति मोबिलाइजेसन पेश्कीसहित १५ प्रतिशत थियो । सो सडक चार लेनमा विस्तार गरिने भए पनि बजारमा थप दुई लेन ‘सर्भिस लेन’ निर्माण गरिने सडक विभागले जनाएको छ ।

पश्चिम खण्ड (जामुने भज्याङदेखि पोखरा पृथ्वीचोकसम्म) निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘एनहुई केयुयन हाइवे एण्ड ब्रिज’ कम्पनी लिमिटेडलाई विसं २०७८ जेठ ३ गते दिइएको थियो ।

जम्मा ३८.८८ किमीमध्ये १८.५९ किमी सहरी क्षेत्र र २०.२९ किमी गैरसहरी क्षेत्र छ । सो खण्डमा १.८ किमी सडकमा माटो काटी सडक विस्तार गर्नुपर्नेछ ।

पर्यटकीय नगरी पोखरा जाने स्थानमा बन्न लागेका पुलले यहाँको सौन्दर्यता थप गर्ने अपेक्षा गरिएको छ । विभागले पछिल्ला वर्ष शहरी क्षेत्रमा आकर्षक पुल निर्माण गर्दै आएको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

खाद्य कम्पनीले दशैंमा ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने, प्रतिकिलो भाउ कति ? Read Next

खाद्य कम्पनीले दशैंमा ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने, प्रतिकिलो भाउ कति ?