काठमाडौं। नेपाल राष्ट्र बैंकले डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ गरेको छ । डलर कार्डबाट आवश्यकता नभएका वस्तु तथा सेवा खरिद हुन थालको भन्दै राष्ट्र बैंक्ले कडाइ गरेको हो ।
राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै १८ वटा वस्तु तथा सेवा खरिदमा डलर कार्ड प्रयोग गर्न नपाइने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले मर्चेन्ट क्याटोगोरी कोड भित्रका १८ वस्तु तथा सेवामा कार्ड प्रयोग गरेर भुक्तानी गर्न नपाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार अब बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी, मनी अर्डर (वायर ट्रान्सफर), वित्तीय कारोबारको शुल्क, धितोपत्र दलालरडिलर्स, रियल इस्टेट एजेन्ट तथा म्यानेजर (रेन्टल), बीमा विक्री, अन्डराइटिङ तथा प्रिमियममा डलर कार्डमार्फत भुक्तानी गर्न पाइने छैन ।
त्यसैगरी, स्टोरहरुको कार्ड खरिद तथा लोडिङ, विविध सेवा तथा वस्तु (अति जोखिम खालका), वाणिज्य बैंकहरुलाई हुने भुक्तानी, क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवा, कुनै पनि प्रकारका राजनीतिक दल तथा धार्मिक संगठनलाई कार्डमार्फत भुक्तानी गर्न नपाइने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले हाल बैंकहरुलाई ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न अनुमति दिएको छ ।