प्राधिकरणले २ महिना भित्रै ५१ वटा चार्जिङ स्टेशन संचालनमा ल्याउने, यी ठाउँमा बन्दैछन्

सांकेतिक तस्वीर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका ५१ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकासहित देशका मुख्य राजमार्गमा निर्माण भइरहेको ती चार्जिङ स्टेशन २ महिना भित्र संचालनमा आउने भएका हुन् ।

आगामी दुई महिनाभित्र सबै चार्जिङ स्टेशन निर्माण सम्पन्न भई सञ्चालमना आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग पनि प्राधिकरणले चार्जिङ स्टेशन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको जानकारी दिँदै सबै क्षेत्रको साथ र सहयोगमा वातावरणको संरक्षण तथा बिजुली खपत अभियानसमेत अगाडि बढ्ने बताए।

देशको प्रमुख सहर तथा राजमार्गमा द्रुत सवारी चार्जिङ स्टेशनको स्थापना गरिनु आफैँमा सकारात्मक हस्तक्षेप भएको उनको भनाइ छ ।

कहाँ कहाँ राख्दै छ चार्जिङ स्टेशन

काठमाडौं उपत्यकामा सात वटा स्टेशन राखिने प्राधिकरणले जनाएको छ। जसअन्तर्गत रत्नपार्कम आजदेखि संचालनमा ल्याएको छ । चाँडै पुल्चोक, बल्खु, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचालनमा ल्याउँदै छ ।

त्यसैगरी, प्रदेश नम्बर १ को झापाका दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी पाँच स्थानमा चार्जिङ स्टेशन राखिनेछन्।

त्यस्तै, प्रदेश नम्बर २ को पर्साको वीरगञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी सात स्थानमा चार्जिङ स्टेशन स्थापना हुनेछन्।

त्यसैगरी, वाग्मती प्रदेशमा धादिङको मलेखु, बीपी राजमार्गको सिन्धुली, मकवानपुरको हेटौंडा र चितवनको भरतपुरमा दुई–दुई वटा स्टेशन राख्ने भएको छ । मुग्लिन/कुरिनटारमा चार वटा र काभ्रेको बनेपामा एउटा गरी बागमतीमा १३ वटा स्टेशन स्थापना गरिने योजना छ।

त्यसैगरी, गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली, स्याङ्जामा एक/एक र कास्कीको पोखरामा तीन गरी ६ वटा स्टेशन रहनेछन्।

लुम्बिनी प्रदेशकाे नेपालगञ्ज, बुटवल, दाङको भालुवाङ, नवलपरासीको बर्दघाट/सुनवलमा दुई वटा स्टेशन रहनेछन्। कर्णाली प्रदेशको सुर्खेतमा एक र सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा एक–एक गरी तीन वटा चार्जिङ स्टेशन राखिने विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणले स्थापना गर्न लागेको चार्जिङ स्टेशनमा २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि चार्जर र २५ वटा साना ठूला कारका लागि चार्ज गर्न सकिने प्रणाली जडान हुनेछ । एउटा सवारीसाधन पूर्णरूपमा चार्ज हुनका लागि बढीमा डेढ घण्टासम्म लाग्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

डेढ घण्टामा पूर्ण चार्ज

प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेशनको क्षमता ६० किलोवाट डिसी र २२ किलोवाट एसी रहेको छ । यद्यपि, १२० किलोवाट डिसीसम्म चार्ज गर्न सकिनेछ । नेपालमा उपलब्ध भएका सवारीसाधनमा रहेको व्याट्रीको क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि डेढ घण्टासममा पूर्णरूपमा चार्ज हुनेछ ।

चार्जिङ स्टेशन निर्माणका संलग्न थ्री गो कम्पनीका कार्यकारी अध्यक्ष राजन रायमाझीले प्रतिचार्जिङ स्टेशन रु ८० लाख लागत लागेको जानकारी दिए । प्राधिकरणले प्रतिचार्जिङ स्टेशन निर्माणका लागि १ करोड २० लाख बराबरको बोलपत्र गरेको भए पनि सो कम्पनीले रु ८० लाखमा ठेक्का पाएको हो ।

दिगो भनेरसमेत चिनिने सो कम्पनीले चीनको वाङव्याङ कम्पनीको स्टार चार्जर भित्र्याएको छ । कम्पनीले देशका अन्य आठ स्थानमा आफ्नै लगानीमा चार्जिङ स्टेशनसमेत निर्माण गरिसकेको छ ।

प्राधिकरणको लगानी रहेको बल्खु, साझा यातायात, नक्साललगायतका स्थानमा चार्जिङ स्टेशन तयार भइसकेको छ । यसबाट पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै जाने विश्वास आफूहरूले लिएको कार्यकारी अध्यक्ष रायमाझीले जानकारी दिए ।

 

मनाङमा १ वर्षमा बन्नुपर्ने पुल ७ वर्षमा पनि बनेन, ठेकेदार सम्पर्कविहीन Read Previous

मनाङमा १ वर्षमा बन्नुपर्ने पुल ७ वर्षमा पनि बनेन, ठेकेदार सम्पर्कविहीन

डलर कार्ड प्रयोगमा कडाइ, अब यी १८ वस्तु तथा सेवा किन्न नपाइने Read Next

डलर कार्ड प्रयोगमा कडाइ, अब यी १८ वस्तु तथा सेवा किन्न नपाइने