काठमाडौं । चरम तरलता अभाव झेलिरहेका बैंकहरुलाई थोरै राहत मिलेको छ । बैंकबाट निक्षेप बाहिरिए क्रम जारी रहे पनि एक दिनमै ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
साउन १० गते (शुक्रबार) बैंकहरुको निक्षेप ४४ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा आइतबार बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। वाणिज्य बैंकको निक्षेप बढे पनि विकास बैंक र फाइनान्स कम्पनीको भने स्थिर रहेको छ ।
निक्षेपमा सुधार आए पनि सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने १ अर्ब घटेको छ । शुक्रबार बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७३ अर्ब रहेकोमा आइतबार १ अर्बले घटेर ४१ खर्ब ७२ अर्बमा झरेको छ ।
निक्षेप बढेसँगै सीडी रेसियोमा पनि सुधार आएको छ । शुक्रबार सगग्र बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८८.३९ प्रतिशत रहेकोमा आइतबार घटेर ८८.२५ प्रतिशतमा आएको छ ।