विवादका बीच ७ लघुबीमा कम्पनीको नयाँ लाइसेन्स खुल्यो

काठमाडौं । सरकारले ७ वटा लघुबीमा कम्पनीको लाइसेन्स खुला गरेको छ । बीमा क्षेत्रको नियामक बीमा समितिले ७ वटा जीवन र ४ वटा निर्जीवन बीमा गरी ७ लघुबीमा कम्पनीको लाइसेन्सको लागि प्रस्ताव आह्वान गरेको हो ।

एकातिर बीमा कम्पनीको संख्या घटाउन बाध्यकारी मर्जरको डण्डा चलाएको समितिले अर्कोतर्फ नयाँ बीमा कम्पनीको लाइसेन्स बाँड्न लागेको हो ।

चर्को विरोधका बाबजूद सातै प्रदेशमा लघु बिमाका नाममा इजाजतपत्र वितरणका लागि समितिले शुक्रबार सार्वजनिक रुपमा सूचना जारी गरेको छ ।

इजाजतपत्र खुलाउने प्रयोजनका लागि समितिले गत सोमबार ‘लघु बीमक संस्थापना तथा दर्तासम्बन्धी निर्देशिका, २०७९’ समेत जारी गरेको थियो ।

लघुबीमाको लाइसेन्स लिन इच्छुकले ३५ दिन भित्र आवेदन दिन समितिले आह्वान गरेको छ । एक प्रदेशमा एउटा मात्र जीवन वा निर्जीवन कम्पनीले लाइसेन्स पाउने समितिले जनाएको छ ।

प्रस्तावित लघु बीमा कम्पनीको चुक्ता पुँजी प्रस्ताव गर्दा कम्तीमा ७५ करोड रुपैयाँमा नघट्ने गरी प्रस्ताव गर्नुपर्नेछ ।

प्रस्तावित लघु बीमा कम्पनीले गर्ने बीमा व्यवसाय लघु बीमा तर्फको जीवन बीमा वा लघु बीमा तर्फको निर्जीवन बीमा व्यवसाय मध्ये कुनै एक छुट्टाछुट्टै वा दुवै प्रस्ताव गर्न सकिनेछ ।

प्रस्तावकले यसअघि कुनै बीमा कम्पनीमा आधारभूत संस्थापक लगानी कर्ताको रूपमा लगानी गरेको भए त्यस्तो बीमकको नाम, लगानीको प्रतिशत र सञ्चालक समितिमा प्रतिनिधित्व समेत खुल्ने विवरण उल्लेख गर्नुपर्नेछ

प्रस्तावित संस्थापकहरूले एकै किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीमा प्रतिहिस्सेदारी (क्रस होल्डिङ) रहेको भए वा हुने गरी त्यस्तो लगानी गर्न पाइनेछैन ।

प्रस्तावकले प्रस्तावित लघुबीमा कम्पनीका लागि प्रस्ताव पेस गर्दा यस समितिबाट जारी भएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को परिच्छेद ३ को बुँदा नम्बर ९ तथा लघुबीमा दर्ता निर्देशिका २०७९ मा व्यवस्था भए बमोजिमका संस्थापना तथा दर्ता सम्बन्धी प्रावधानमा उल्लेखित बुँदाहरू समेत समावेश गरेको हुनुपर्नेछ ।

प्रस्तावित लघु बीमकको कर्पोरेट कार्यालय काठमाडौँ उपत्यका बाहिर प्रदेश स्तरमा रहनुपर्नेछ । छनोट भएका प्रस्तावहरू मध्ये बीमा समितिले कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्नेछ ।

कम्पनीमा लगानी गर्न हस्ताक्षर गर्ने लगानीकर्ताले आफू कालोसूचीमा नरहेको प्रमाण पेस गर्नुपर्नेछ र आर्थिक वर्ष २०७७ ०७८ को करचुक्ताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

लघु बीमा व्यवसाय सम्बन्धमा स्पष्ट अवधारणा, वस्तुगत विश्लेषण सहित विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन, विदेशी लघु बीमा कम्पनीसँग प्राविधिक पक्षमा साझेदारी हुने गरी संयुक्त उपक्रम स्थापना सम्बन्धी समझदारी भए सो सम्बन्धी पत्र, लघु बीमा व्यवसाय सम्बन्धी कुनै दुई प्रकारको बीमालेख र सोको प्राविधिक पक्षको पृष्ठपोषण गर्नेका साथै लघु बीमासँग सम्बन्धित अन्य अनिवार्य

पक्षहरू सम्बन्धी कागजातहरू समेत विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन साथै राखी पेस गर्नुपर्नेछ । रीतपूर्वक पेस नगरिएको वा म्याद नाघी प्राप्त भएको वा कुनै सर्त समावेश गरी पेस भएका प्रस्ताव उपर कुनै कारवाही हुनेछैन ।

प्रस्तावकले पेस गरेका प्रस्तावहरू मध्ये यस समितिबाट तयार हुने मूल्याङ्कनका आधारहरूमा उच्चतम अङ्क प्राप्त गर्ने जम्मा ७ वटा (३ जीवन वीमा र ४ निर्जीवन बीमा) बीमाका प्रस्तावहरूलाई मात्र छनोट गरिनेछ ।

समितिमा यसअघि दर्ता भएका प्रस्तावहरू यसै सूचनाद्वारा रद्द गरिएको छ । उक्त प्रस्तावकहरूले प्रस्ताव पेस गर्न चाहेमा यसै सूचना बमोजिम गर्नुपर्नेछ

यस सूचना बमोजिम पेस हुन आएका कुनै वा सबै प्रस्तावहरू कुनै कारण खुलाई वा नखुलाई स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार समितिमा सुरक्षित रहनेछ ।

एनआइबीएल प्रगति फण्डको लाभांश घोषणा Read Previous

एनआइबीएल प्रगति फण्डको लाभांश घोषणा

कर्जा लगानी नगरी बैंकले कसरी बढाउलान् व्यवसाय ? Read Next

कर्जा लगानी नगरी बैंकले कसरी बढाउलान् व्यवसाय ?