काठमाडौं । जर्मनीको म्युनिख रि–इन्स्योरेन्स विश्वकै ठूलो पुनर्बीमा कम्पनी बनेको छ । म्युनिख पुनर्बीमा शुल्क संकलनका आधारमा विश्वकै सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बनेको हो ।
डाइरेक्टरी रेटिङ एजेन्सीका अनुसार म्युनिखले सन् २०२१ मा ४६ अर्ब ८० करोड अमेरिकी डलर (करिब ५८ खर्ब ९६ अर्ब रुपैयाँ) बराबरको जीवन र निर्जीवन पुनर्बीमा शुल्क संकलन गरेको छ । यो विश्वभरका कुनै पनि पुनर्बीमा कम्पनीले संकलन गरेको सबैभन्दा धेरै पुनर्बीम शुल्क हो ।
यद्यपि, सन् २०२१ मा म्युनिखको व्यापार भने २ प्रतिशतले मात्र बढेको छ । यस्तै, स्वीट्जरल्यान्डको स्वीस रि–लिमिटेड दोस्रो धेरै पुनर्बीमा शुल्क संकलन गर्ने कम्पनी बनेको छ । स्वीसले सन् २०२१ मा जीवन र निर्जीवन गरी कुल ३९ अर्ब २० करोड २० लाख डलर पुनर्बीमा शुल्क संकलन गरेको छ । यस वर्ष स्वीसको व्यापार ७ प्रतिशत बढेको छ ।
त्यसैगरी, जर्मनीकै हानओभर रक एसई ३१ अर्ब ४४ करोड ३० लाख डलर, क्यानडा लाइफ रि २३ अर्ब ५४ करोड ७० लाख डलर, स्कोर एसई १९ अर्ब ९३ करोड ३० लाख डलर, अमेरिकाको ब्रेकसायर हाथवे इन्कर्पोरेटेडको १९ अर्ब ९० करोड ६० लाख डलर पुनर्बीमा शुल्क संकलन गर्दै क्रमशः शीर्ष ६ मा परेका छन् ।
त्यसैगरी सातौं स्थानको लियोड रिको १९ अर्ब ३४ करोड ३० लाख, आठौंमा चाइना रि–इन्स्योरेन्स कर्पोरेसनको १७ अर्ब ८० करोड ८० लाख डलर, नवौं स्थानमा ग्रुप अफ अमेरिका इन्कर्पोरेटेडले १३ अर्ब ३४ करोड ८० लाख र १०औं स्थानमा परेको एभरेस्ट रि ग्रुप लिमिटेडले ९ अर्ब ६ करोड ७० लाख डलर पुनर्बिमा शुल्क संकलन गरेको छ ।
