अब नेपालमै सामसङका टीभी उत्पादन हुने, नवलपरासीमा उद्योग स्थापना

काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले हिम इलेक्ट्रोनिक्ससंगको सहकार्यमा नवलपरासीमा टीभी उद्योग स्थापना गर्ने भएको छ ।

परम्परागत धार्मिक विधि अनुसार बुधबार नवलपरासीमा कारखानाको शिलान्यास कार्य सम्पन्न गरिएको छ । सो समारोहमा मा. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दिलेन्द्र प्रसाद बडु, र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्कको गरिमामय उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सीईओ केन काङले भने, ‘हाम्रो लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससंग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडि टिभी कारखाना नेपाली जनता प्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरु प्रति उपभोक्ताहरुले देखाउनु भएको बढ्दो विश्वास एवं मायाको प्रतिक हो । हामीे नेपाल सरकार र स्थानीय निकायहरुलाई वहाँहरुले दिनुभएको साथ सहयोगको लागि आभार व्यक्त गर्दछौं ।’

गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘यो नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुङ्गा साबित हुनेछ । कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससंगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ । यो हाम्रो सामसङसंगको २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो ।’

यो कारखानाले नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको सुरूवात गर्नेछ र स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कारहरु तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रुपान्तरण गर्ने सम्भावनाहरु व्यापक बनाएको छ ।

यसले प्रभावकारिता र उत्पादकत्व वृद्धि गर्न, थप रोजगारीका अवसरहरु सिर्जना गर्न र देशमा एक बलियो इलेक्ट्रोनिक्स उत्पादन गर्ने वातावरण बनाउन मद्दत पुग्नेछ । कारखानाले सन् २०२३ देखि उत्पादन सुरू गर्ने लक्ष्य लिएको छ ।

नेपालमा सन् १९९७ देखि सामसङले प्रवेश पाएको हो र आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । हाल यसले आफ्नो साझेदार मार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरु विक्री वितरण गर्दै आइरहेको छ ।

नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरु र ग्राहक सेवा केन्द्रहरुको बलियो सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

भारतमा विश्वकै अग्लो रेलवे पुल सम्पन्न हुँदै Read Previous

भारतमा विश्वकै अग्लो रेलवे पुल सम्पन्न हुँदै

म्युनिख रि-इन्स्योरेन्स बन्यो विश्वकै ठूलो पुनर्बीमा कम्पनी, यी हुन् १० ठूला पुनर्बीमा कम्पनी Read Next

म्युनिख रि-इन्स्योरेन्स बन्यो विश्वकै ठूलो पुनर्बीमा कम्पनी, यी हुन् १० ठूला पुनर्बीमा कम्पनी