काठमाडौं । चरम तरलता अभाव झेलिरहेका वाणिज्य बैंकहरूको निक्षेपमा भारी गिरावट आएको छ । साउन महिनामा मात्रै वाणिज्य बैंकहरूको कुल १ खर्ब ८ अर्ब निक्षेप घटेको छ ।
असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकको निक्षेप साउन अन्तिमसम्ममा ४४ खर्ब ३३ अर्ब रुपैयाँमा झरेको छ । साउनमा २६ वटा वाणिज्य बैंकहरू मध्ये जम्मा ३ बैंकको मात्र निक्षेप बढेको छ भने २३ वटाको निक्षेप घटेको छ ।
साउनमा एनआइसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकको मात्र निक्षेप बढेको छ । जसमा एनआइसी एशियाले सबैभन्दा धेरै १० अर्ब १५ करोड निक्षेप बढाउन सफल भएको छ ।
साउनमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकबाट १५ अर्ब ३२ करोड निक्षेप बाहिरिएको छ । त्यसैगरी, नेपाल बैंक, एनसीसी र प्रभु बैंकबाट पनि १० अर्ब बढी निक्षेप बाहिरिएको छ ।

ठूलो मात्रमा निक्षेप बाहिरिएपछि बैंकहरूको कर्जालगानी ठप्पप्राय देखिएको छ । साउन महिनामा वाणिज्य बैंकहरूले जम्मा १ अर्ब ६९ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।
असार मसान्तसम्म ४१ खर्ब ७५ अर्ब रहेको कर्जा लगानी साउनमा ४१ अर्ब ७७ अर्ब रुपैयाँमा पुगेको हो। साउनमा १४ बैंकले कर्जा लगानी बढेको छ भने १२ बैंकको घटेको छ ।
तरलता अभावका बाबजूद साउनमा सानिमा बैंकले सबैभन्दा धेरै ५ अर्ब १० करोड कर्जा विस्तार गर्न सफल भएको छ भने एनसीसीको ४ अर्ब ६० करोड रुपैयाँ घटेको छ ।
निक्षेप बाहिरिएसँगै बैंकहरूको सीडी अनुपातमा पनि दबाब परेको छ । साउन मसान्तसम्म बैंकहरूको औसत सीडी रेसियो ८८.०७ प्रतिशत रहेको छ । यद्यपि, यो नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमाभन्दा कम नै हो ।
औसत सीडी रेसियो ९० प्रतिशतभन्दा कम भए पनि ३ बैंकहरूको भने सीमा नाघेको छ । नबिल, नेपाल बैंक र सेञ्चुरी बैंकको सीडी रेसियो ९० प्रतिशत माथि पुगेको छ ।