नेपाल पूर्वाधार सम्मेलन भदौ २३ देखि हुने

काठमाडौं । चौथो संस्करणको नेपाल पूर्वाधार सम्मलेन भदौ चौथो साता हुने भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा उक्त सम्मेलन भदौ २३ र २४ गते हुन लागेको हो ।

सम्मेलनको सह आयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेका छन्।

यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै विगत तीन वटा पूर्वाधार सम्मेलनको समिक्षा गर्ने, पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधारहरूलाई उत्प्रेरित गर्ने; पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने; दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनाहरूलाई प्राथमिकता दिने यस सम्मेलनको उद्देश्य रहेको छ ।

यस पटकको सम्मेलनको थिम विकासका लागि पूर्वाधार रहेको छ । सन् २०१९ मा भएको पूर्वाधार सम्मेलनपछि कोभिड–१९ का कारण सन् २०१९/२० मा नेपालको आर्थिक वृद्धि २.३७ प्रतिशतले संकुचित भयो । आर्थिक गतिविधिहरू विश्वव्यापी रूपमा ठप्प हुँदा विश्वले आपूर्तिमा गम्भीर अवरोधको सामना गर्नुपरेको थियो ।

नेपालले आर्थिक वर्ष २०२२/२३ मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक वृद्धि हासिलका लागि पूर्वाधारमा लगानी बाध्यकारी छ । पूर्वाधार सम्मेलनले आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै पूर्वाधारमा लगानी गर्नु नै उत्तम शर्त हो भन्ने धारणालाई सुदृढ पार्न खोजेको छ ।

विश्वव्यापी रुपमा भईरहेको पूँजी अभाव र बढ्दो ब्याजदरले पूर्वाधार क्षेत्रमा लगानीका लागि स्रोत परिचालनमा थप चुनौती बनेको बेलामा पूर्वाधार सम्मेलन २०२२ ले स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई विश्वासमा लिएर नवप्रवर्तनकारी वित्तीय उपकरण र ढाँचामा केन्द्रिकृत गरेर संवादको माध्यमबाट यो कमीलाई कम गर्न खोज्नेछ ।

सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने परिसंघले विश्वास लिएको छ ।

पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ ।

सम्मेलनको विभिन्न सत्रमा पूर्व प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, महानगरपालिकाका मेयर, पूर्वाधार क्षेत्रका राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञ, एशियाली विकास बैंकका उपाध्यक्ष, प्राध्यापकहरुको प्रस्तुती हुनेछ । सगरमाथा सिमेन्टको मुख्य प्रायोजनमा हुने यस सम्मेलनमा २५ देशबाट ६ सय भन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएकाे छ ।

नेपाल उद्योग परिसंघले पहिलो नेपाल पूर्वाधार सम्मेलन ‘पूर्वाधारमा द्रुतगति लगानी’ शीर्षकमा सन् २०१४ मा आयोजना गरेको थियो । सन् २०१७ मा आयोजित दोस्रो सम्मेलनको विषय ‘निजी क्षेत्र अपरिहार्य साझेदार’ र सन् २०१९ को तेस्रो नेपाल पूर्वाधार सम्मेलन ‘दिगो विकासका लागि लचिलो पूर्वाधार’ मा केन्द्रित थियो ।

बैंकबाट धमाधम बाहिरिँदै पैसा, २८ दिनमै झिके सवा १ खर्ब Read Previous

बैंकबाट धमाधम बाहिरिँदै पैसा, २८ दिनमै झिके सवा १ खर्ब

क्रिप्टो करोबारमा संलग्न पाए कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी Read Next

क्रिप्टो करोबारमा संलग्न पाए कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी