काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गदै बिट्क्वाइन, क्रिप्टोकरेन्सी र भर्चूअल करेन्सी तथा नेटवर्क मार्केटिङको कारोबार गर्नु गैरकानुनी भएको भन्दै सचेत गराएको छ ।
पछिल्लो समय क्रिप्टोकरेन्सी जस्ता भचूर्अल मुद्रामा लगानी बाहिरीएको आशंकामा राष्ट्र बैंकले यस्तो कारोबार तथा व्यवसाय गैरकानुनी भएको भन्दै कारोबार गर्नेलाई कारबाही गर्ने बताउदै आएको छ ।
‘नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भचूर्अल तथा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी कारोबार नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र यस बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा यस्तो कारोबार गैरकानुनी रहेको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फन्ड मा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरू अन्तरनिहित हुने विषय समेत स्मरण गराइएको छ ।’
नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिकले क्रिप्टोकरेन्सी, बिट्क्वाइन, हाइपरफन्ड जस्ता भचूर्अल मुद्रा कारोबार गरेमा कारबाही हुने राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सुचनामा उल्लेख छ ।
यसअघि राष्ट्र बैंकले २०७४ साउन २९, २०७८ भदौ २४ र २०७८ माघ ९ मा सार्वजनिक सूचनाहरू प्रकाशन गदै यस्तो कारोबार गैरकानुनी भएको बताएको थियो ।
गत वर्ष नेपालबाटै क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा केही व्यक्तिहरु सम्पत्ति सुद्धिकरण विभागको कारबाहीमा परेका थिए ।