काठमाडौं । कोभिड सुरु भएयता चिनियाँ नाकाबन्दीले सामान आयात प्रभावित हुँदै आएको छ भने निर्यात ठप्पप्रायः छ । गत सातादेखि काेराेनाकाे बाहनमा चीनले मुख्य व्यपारिक नाका रसुवागढी र तातोपानीबाट हुने आवतजावत चिनियाँ पक्षले बन्द गरेसँगै सामान आयातमा असर पर्ने भएको हो ।
लामो अवधिसम्म सोही अवस्था कायम रहे दशैंतिहारका लागि ल्याइएका सामानहरु नाकामै अड्किने र आयात गर्न नसकिने व्यापारीहरूको आशंका छ । नजिकिँदै गरेको तीज र चार्डवार्डका लागि भित्रिने सामानहरु ल्याउन नसक्दा एकातिर अभाव झेल्नुपर्ने र अर्कोतर्फ मूल्य बढ्ने सामान आयातकर्ता बताउँछन् ।
हरेक वर्ष दशैं–तिहारमा लत्ताकपडाको माग उच्च हुनेगरेको छ । जसको कारण आपूर्ति हुन नसक्दा सामान महंगिने व्यापारीहरू बताउँछन् । विशेषगरी उत्तरी नाकाबाट लत्ताकपडा र इलेक्ट्रिक सामानहरु भित्रिने गरेका छन ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालको व्यापार भारतपछि सबैभन्दा धेरै चीनसँग छ । तर, सन् २०१९ को अन्त्यतिर सुरु भएको महामारीपछि नेपालबाट सामान निर्यातमा भने चीनले पूर्णरुपमा रोक लगाएको छ ।
संक्रमणको जोखीम कायमै रहेको बाहानामा निर्यात शून्य छ भने आयात गरिने सामानमा पनि कहिले खोल्ने कहिले बन्द गदै आएको छ । सो विषयमा नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुतावास मार्फत नाका खोल्न पत्राचार गर्दा समेत चीनले बेवास्ता गरेको सरकारी अधिकारीहरु बताउँछन् ।
विगत २/३ वर्षदेखिको चीनको यस्तो प्रवृत्तिले दसैंतिहारको मुखमा बजारमा सामानको अभाव र मूल्यवृद्धि हुनेक्रम जारी छ । यस वर्ष पनि सोही अवस्था दोहोरीनेमा व्यापारीहरु चिन्तित छन् ।
अनिश्चितकालीन नाकाबन्दी
रसुवागढी र तातोपानी भन्सार कार्यालयका अनुसार चीनले कोभिड फैलिएको भन्दै गत सातादेखि औपचारिक जानकारी विना अनिश्चित कालका लागि नाकाबन्दी गरेको छ ।
तातोपानी भन्सार भन्सार कार्यालय प्रमुख नारद गौतम चिनियाँ क्षेत्रमा कोभिड बढेरको भन्दै गत सातादेखि नाका बन्द गरिएको अनौपचारिक जानकारी आएको बताउँछन् ।
‘चीनतर्फ कोभिड बढेर सामान र आवतजावत पूर्णरुपमा रोक लगाएको छ । कहिलेसम्मका लागि हो भन्ने केही औपचारिक जानकारी आएको छैन,’ उनले भने, ‘यसले चीनका मुख्य नाकाबाट आयात गरिने सामान प्रभावित भएको छ । लकडाउको अवस्था भएकाले सुनसान छ ।’
यसैगरी, अर्को नाका रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीेले औपचारिक जानकारी विना चीनले सामान आयात ठप्प पारेको बताए ।
‘हालसम्म औपचारिक जानकारी त आएको छैन, तर सामान आयात भने बन्दछ । कोभिडको संक्रमण फैलिएकाले आवतजावत बन्द गरेको चिनियाँ महावाणिज्यदूतले बताएको छ,’ उनले भने ।
सामानको अभाव र महंगो मूल्य
अहिलेको नाका बन्दी लामो अवधिसम्म कायम रहे दशैंतिहरमा उच्च माग हुने लत्ताकपडा लगायतका सामानको अभाव हुने व्यापारीहर बताउँछन् । गत वर्षको दसैंतिहारमा पनि नाका बन्दीका कारण माग अनुसार सामान भित्रिन नसक्दा उपभोक्ताहरुले अभाव र महंगो मूल्य तिर्नु परेको थियो ।
यी नाकाबाट नेपाल भित्रिने सामानका कन्टेनरहरू चिनियाँ क्षेत्रमै अड्किएको व्यापारिहरूको गुनासो छ । जसको कारण एकातिर सामानको अभाव र अर्कोतर्फ आयातका लागि लागत बढ्दा महंगो हुने भएको हो ।
हिमालय सीमापार व्यापार संघका उपाध्यक्ष कुमार श्रेष्ठ लामो अवधिसम्म उत्तरी नाका बन्दभए दसैँतिहारका लागि ल्याइने सामान अभाव हुनुका साथै महंगिने बताउँछन् ।
‘नाका बन्द भएपछि सामान केही आएको छैन्, ल्हासाबाटै सामान नपठाएको भन्ने सुन्नमा आएको छ । लामो अवधिसम्म यस्तै अवस्था रहे दशैंमा आउने लत्ता कपडा लगायत अन्य सामानहरुको अभाव हुने देखिन्छ,’ उनले भने, ‘यसले मूल्यमा समेत प्रभाव पार्छ । भन्सार कार्यालयहरूसँग बुझदा पनि उहाँहरूले औपचारिक जानकारी नआएको र कोभिडका कारणले बन्द भएको बताएका छन् ।’
दैनिक ९ देखि १५ कन्टेनहरु भित्रिँदै आएको अवस्थामा एक्कासीको नाकाबन्दीले सामान आयात बन्द हुँदा त्यसको प्रभाव आपूर्ति प्रणालीमा पर्ने उनीहरूको भनाइ छ ।