काठमाडौं । अरुण चौधरीको स्वामित्वमा रहेको सीजी होल्डिङले मदिरा उद्योगमा लगानी गरेको छ । समूहले पहिलो पटक बियर तथा रक्सी उद्योगमा लगानी गरेको हो । चौधरी ग्रुप अन्तर्गतको अरुण चौधरीको सीजी होल्डिङ्गले गोदावरीमा रहेको नेपालकै पुरानो मध्यको एक बियर उद्योग हिमालयन ब्रुअरी र त्रिशक्ती डिष्टिलरीमा लगानी गरेको हो ।
चितवनको टाइगर ल्याण्ड रिसोर्ट खरिद गरि होटल व्यवसायमा समेत लगानी सुरु गरेको ग्रुपले हालैमात्र बुढानिलकण्ठमा मेराकी वेलनेस रिट्रिट नामको रिसोर्ट सञ्चालनमा ल्याएको थियो ।

पर्यटन क्षत्रमा योगदान दिने भन्दै कम्पनीले सानेपामा रहेको मुख्यालयसँगै जोडिएको सुजुकी शोरुम हटाएर होटलको निर्माण सुरु गरिसकेको छ ।
बियरमा ठूला घराना
नेपाली बजारमा बियर पारखीहरुको संख्या बढ्दै गएसँगै ठूला औद्योगिक घरानाहरु बियर मार्केटमा आकर्षित हुन थालेका छन् । गत वर्ष विशाल ग्रुप अन्तर्गतको यति ब्रुअरीले आफ्नो नयाँ उत्पादनहरु अर्ना र किङ्गफिसरको उत्पादन सुरु गरेको थियो ।
त्यस्तै नेपाली मदिरा सम्राट भनेर चिनिने राजबहादुर शाहले पनि जर्मनी फर्मूलाको वास्टिनर बियरको उत्पादन सुरु गरेका थिए । उनको राज ब्रुअरीले हालै मात्र अमेरिकी ब्राण्डको बडवाइजरको उत्पादन समेत सुरु गरेको छ ।

नेपाली मदिरा व्यवसायमा सफल नवप्रवेशी व्यावसायी रबि केसी र अभिषेक अग्रवालको समूहले पनि हालैमात्र याक ब्रुअरी सुरुगरि बाह्रसिंगे ब्राण्डको बियर उत्पादन सुरु गरेका छन् ।
यस्तोमा सन् १९८१ वाट उत्पादन सुरु भएको हिमालयन ब्रुअरी र त्रिशक्ति डिष्टिलरीले खरिद गरेर मदिरा व्यवसायमा प्रबेस गरेको सिजी होल्डिङले बजारमा कस्तो व्यापार गर्छ त्यो हेर्न भने केही कुर्नु पर्ने भएको छ ।
हिमालयन ब्रुअरीले काठमाडौं प्रिमियम बियर, आइसवर्ग एक्ट्रा स्ट्रङ्ग बियर, र कमाण्डो सुपर स्ट्रङ्ग बियरको उत्पादन गरिरहेको छ ।
त्रिशक्ती डिष्टिलरीले ४० यूपीको भिग्रा ह्वीस्की, त्रिशक्ती डायण्ड जिन, ५० यूपीको मदहोस ह्वाइट लेवल र मदहोस गोल्ड लेवलजस्ता मदिरा उत्पादन गर्दै आएको छ । अमात्य समूहको स्वामित्वमा रहेको यो पुरानो बियर कम्पनी पियुसबहादुर अमात्य पोखराको फूलबारी होटलमा फसेपछि बिक्री भएको थियो ।

सन् २०१० बाट नयाँ समूहको प्रवेशसँगै यस फ्याक्ट्रिको वार्षिक उत्पादन क्षमता ८० हजार हेक्टोलिटरको रहेको छ । पूराना चार्टर्ड अकाउण्टेन्ट जोशी एण्ड भण्डारीका अरविन जोशीको समूहले खरिद गरेको उक्त फ्याक्ट्रीले वर्किङ्ग क्यापिटल जुटाउन नसक्दा उत्पादनमा समस्या भोग्दै आएको थियो ।
सीजी होल्डिङको सेयर
सीजी होल्डिङको लगानीसँगै अब उत्पादन नियमित हुने छ । भदौ महिनाबाट सिजीको प्रवेश भएको हो भने कम्पनीले ६० प्रतिशतको हाराहारीमा शेयर होल्ड गरेको जनाइएको छ ।
ललितपुरको रमणिय स्थान गोदावरीमा १०९ रोपनी जग्गा रहेकोले उक्त फ्याक्ट्रीको मूल्याङ्कन १५० करोड रुपैयाँ गरिएको अनुमान छ ।