काठमाडौं । आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजिनामा दिने सम्भावना बढेको छ ।
महरामाथि लागेको आरोपबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा शीर्ष नेताहरूको भेलाले उनलाई राजिनामा दिन सुझाव दिइएको बुझिएको छ । महराकै विषयमा छलफल गर्न अहिले नेकपा केन्द्रीय सचिवालयको आकस्मिक बैठक बसिरहेको छ ।
यस्तै, महराले आज विहानै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि भेट गरिसकेका छन् । सो भेटमा पनि महरालाई राजिनामा दिन नै संकेत गरिएको बुझिएको छ ।
नेकपाका शीर्ष नेताहरुले गम्भीर आरोप लागिसकेपछि सभामुख महराले नै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने संकेत गरेका छन् ।
पार्टीका शीर्ष नेता तथा सदस्यहरुको सुझाव अनुसार सम्भवतः महराले आजै राजीनामा दिन सक्ने सम्भावना रहेको छ ।