काठमाडौं ।वाणिज्य बैंकहरूको पूँजीको आकार ६ खर्ब नाघेको । गत असार मसान्तसम्म बैंकहरूको चुक्त पूँजी र रिजर्भ कोष गरी कुल पूँजी ६ खर्ब १७ अर्ब पुगेको हो ।
समक्षा अवधिसम्म बैंकहरूको चुक्ता पूँजी ३ खर्ब ५६ अर्ब र रिजर्भ तथा सरप्लस कोषमा २ खर्ब ६० अर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वित्तीय संस्थाहरूको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ तोकेको छ ।
अधिकांश बैंकहरूको पूँजी राष्ट्र बैंकले तोकेभन्दा बढी छ । जसको कारण उनीहरूको व्यवसायीक दायरा फराकिलो बन्दै गएको छ । ३ खर्ब ५६ अर्ब रुपैयाँ पूँजी भएका वाणिज्य बैंकहरूले ४४ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४० खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
गत वर्ष मात्र वाणिज्य बैंकहरूले साढे ५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए । बैंकहरूले वित्तीय प्रणालीमा देखिएको तरलता अभावका बाबजुत नाफामा उल्लेख्य वृद्धि गरेपनि लक्ष्य अनुसार कर्जा लगानी भने गर्न सकेनन् ।
कर्जाको तुलनामा निक्षेप संकलन नहुँदा हालसम्म तरलता अभाव कायम छ । जसको कारण बैंकहरूको व्यवसाय केही साँघुरिने देखिन्छ । राष्ट्र्र बैंकले हाल कर्जा र निक्षेपको अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । जस अनुसार बैंकहरूले १०० रुपैयाँ निक्षेप संकलन गर्दा १० रुपैयाँ राखेर ९० रुपैयाँ लगानी गर्न पाउँछन् ।
राष्ट्र बैंकको मर्जर तथा प्राप्तिको व्यवस्थाले एकातिर वाणिज्य बैंकहरूको संख्या घट्नेक्रम जारी छ भने अर्कोतर्फ बैंक बलियो हुनका लागि संस्थाको पूँजी एकीकृत हुने भएकाले चुक्ता पूँजीको आकार बढ्दै गएको छ ।
कर्जा लगानीबाट प्राप्त हुने प्रतिफलले बैंकको नाफा तथा संस्थाको अवस्था देखाउँछ । जसले धेरै निक्षेप संकलन गरेर कर्जा लगानी गर्न सक्छ सोही संस्थाको व्यवसायमा उछाल आएको प्रकाशित वित्तीय विवरणहरूबाट प्रष्ट हुन्छ ।
चुक्ता पूँजीमा ग्लोबल पहिलो
साढे २ वर्षअघि जनता बैंक गाभेर नेपालकै ठूलो बनेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । यस बैंककाे कुल पूँजी भने ३७ अर्ब रूपैयाँ छ । यस बैंकले केही समयअघि बैंक अफ काठमान्डूसँग मर्जरका लागि सम्झौता गरेको छ ।
त्यसपछि पनि ग्लोबल बैंक नै पूँजीको आधारमा सबैभन्दा ठूलो बन्ने छ । मर्जरपछि यस बैंकको चुक्ता पूँजी साढे ३४ अर्ब रुपैयाँ पुग्नेछ भने कुल पूँजी ५६ अर्ब पुग्नेछ ।
कुल पूँजीका आधारमा नबिल बैंक सबैभन्दा ठूलो बैंक बनेको छ । हाल यसको कुल पूँजी ५२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । जसमा चुक्ता पूँजी २२ अर्ब ८३ करोड र रिजर्भ कोषमा २९ अर्ब ७५ करोड रुपैयाँ छ ।
पूँजीको आकारको आधारमा सिभिल बैंक सबैभन्दा सानो रहेको छ । यसको चुक्ता पूँजी ९ अर्ब र रिजर्भ २ अर्ब ९४ करोड गरी कुल पूँजी जम्मा १२ अर्ब मात्र रहेको छ ।
निक्षेप र कर्जामा नबिल अगाडि
हालसम्म निक्षेप संकलन र कर्जा लगानीमा नबिल बैंक पहिलो नम्बरमा छ । यसअघि बैंकिङ क्षेत्र लिड गरेको यस बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ अर्ब १ करोड कर्जा लगानी गरेको छ ।
दोस्रोमा एनआइसी एसिया बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ५२ अर्ब कर्जा लगानी गरेको छ । कर्जा लगानीमा भने यो बैंक तेस्रो नम्बरमा छ । हालसम्म एनआइसी एसियाले २ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
ग्लोबल आइएमई बैंक कर्जा लगानी गर्नेमा दोस्रो स्थानमा छ । यस बैंकले २ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको छ । निक्षेप संकलन र कर्जामा सबैभन्दा कमजोर स्ट्याण्डर्ड चाटर्ड बैंक देखिएको छ । यस बैंकले हालसम्म ९३ अर्ब ७२ करोड रुपैयाँ संकलन गरेको छ भने ७९ अर्ब लगानी गरेको छ । यसैगरी, सिभिल र सेन्चुरी बैंक पनि निक्षेप संकलन र कर्जामा पछि छन् ।