काठमाडौं । चन्द्रगिरि हिल्स प्रालि पहिलो पटक नाफामा गएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा साढे २ करोड बढी नाफा कमाएको हो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्म २ करोड ५५ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनी २४ करोड ६२ लाख रुपैयाँ घाटामा रहेको थियो ।
कोभिडको असार कम हुँदै गएपछि आर्थिक क्रियाकलापमा क्रमशः सुधार हुँदै जाँदा कम्पनीको व्यापार व्यवसायमा वृद्धि भएको छ। पर्यटकीय गतिविधि बढेपछि कम्पनीको आम्दानी झन्डै तेब्बरले बढेको छ ।
गत वर्ष व्यवसाय सञ्चालनबाट कम्पनीले ६६ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २२ करोड १९ लाख रुपैयाँ मात्र थियो।
हाल १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने ३९ करोड ४४ लाख रुपैयाँल ऋणात्मक छ।
पहिलो पटक नाफामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । समीक्षा अवधिमा चन्द्रागिरिको प्रतिसेयर आम्दानी १.६७ रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो आम्दानी १७ रुपैयाँ ७८ पैसाले नकारात्मक थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ७४.२९ रुपैयाँ छ ।