नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ६० प्रतिशत सकियो, अब कति मिटर बाँकी छ ?

निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम झन्डै दुई तिहाई सम्पन्न हुन लागेको हो ।

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार साउन २२ गतेसम्म सुरुङ खन्ने काम ६० प्रतिशत पूरा भएको छ । हालसम्म ३ हजार २७६ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

कोभिडकालमा समेत निरन्तर काम हुँदै आयोजनाको कुल ५ हजार ४९९ मिटरमध्ये हालसम्म ३ हजार २७२ मिटर सुरुङ खन्ने काम पूरा गरेको हो ।

आयोजनका अनुसार मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ४७५ मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ७७० मिटर र धादिङतर्फ ७०५ मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, आपतकालीन (स्केप टनेल) सुरुङ अन्तर्गत हालसम्म १ हजार ६१३ मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ९२१ मिटर र धादिङतर्फ ६९२ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ६२ मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३२ मिटर र धादिङतर्फ ३० मिटर निर्माण गरिएको छ ।

हालसम्म आयोजनाको समग्रमा ४१ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ४७ प्रतिशत प्रगति भएको छ ।

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै २ हजार २२३ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

नागढुंगा सुरुङमार्गको निर्माण अवधि २०७९ चैत २३ गतेसम्म रहेको छ । कोभिडका कारणले ढिलाइ हुन गएकोमा थप ८६ दिन म्याद थप गरिएको छ । उक्त समय अनुसार नागढुंगा सुरुङमार्गको कुल निर्माण सम्पन्न हुन अब करिब ११ महिना बाँकी रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

चन्द्रागिरि हिल्स पहिलो पटक नाफामा, आम्दानी तेब्बरले बढ्यो Read Previous

चन्द्रागिरि हिल्स पहिलो पटक नाफामा, आम्दानी तेब्बरले बढ्यो

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी