‘नम्बर वान’ बन्ने दौडमा नबिल, ग्लोबल र एनआइसी, २० मुख्य सूचकमा कुन अगाडि ? (तथ्यांकसहित)

काठमाडौं । पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रको को ठूलो बन्ने भन्ने लडह नै चलेको छ । बैंकहरु इन्डिस्ट्रीकै नम्बर वान बन्ने दौडमा रहेका छन् । जसका लागि धमाधम मर्जरमा गइरहेका छन् ।

मर्जरबाट प्राप्त हुने सिनर्जीबाट आफूलाई बैंकिङ क्षेत्रकै लिडर बनाउन प्रयासरत रहेका छन् । विगत ७/८ वर्ष अघिसम्म नेपाली बैंकिङ क्षेत्रका दुई चिर प्रतिद्धन्दी बैंकहरू थिए, नबिल बैंक र नेपाल इन्भेष्टमन्ट बैंक । वासलतका हरेक सूचकहरूमा यी दुई बैंक बीच कडा प्रतिस्पर्धा हुने गथ्र्यो ।

तर, पछिल्ला वर्षहरुमा केही ठूला ऋण प्रोभिजनिङ गर्नुपरेपछि नेपाल इन्भेष्टमेन्ट बैंक यो प्रतिस्पर्धाबाट बाहिरिएको छ । यद्यपि, अहिले इन्भेष्टमेन्टले मेगा बैंकसँग मर्जर गरेर फेरि आफूलाई प्रतिस्पर्धामा उभ्याउने कोशिस गरेको छ ।

बीचका केही वर्ष नबिल बैंकको प्रतिस्पर्धी कोही नभए झैं देखियो । अधिकांश वित्तीय सूचकमा नबिल बैंकले ‘नम्बर १’को ताज पहिरिरह्यो । तर, पछिल्लो ३ वर्ष यता नबिललाई टक्कर दिने गरी दुई बैंकको उदय भएको देखिन्छ । ती हुन् आक्रमक व्यवसाय विस्तार नीति अगाल्दै अघि बढेको एनआइसी एशिया र बिग मर्जरको सिनर्जीबाट लम्किँदै गरेको ग्लोबल आइएमई बैंक ।

अहिले बैंकङि क्षेत्रमा नम्बर वान बन्ने दौडमा निजी क्षेत्रका मुख्य गरी नबिल बैंक, एनआइसी एशिया र ग्लोबल आइएमइ बैंक रहेका छन् । वासलतका अधिकांश सूचकमा यी बैंकहरु बीच तीव्र प्रतिस्पर्धा रहेको छ ।

विगतदेखि नै बैंकिङ लिडरको रुपमा रहेको नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेर आफ्नो ताज जोगाउन प्रयासरत रहेको छ । पछिल्ल समय केही सूचकमा नबिललाई ग्लोबल र एनआइसीले पछि पारे पनि अहिले बंगलादेश बैंकलाई गाभेर फेरि आफूलाई कमब्याक गर्न सफल भएको छ ।

भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एचडीएफसी बैंकको व्यवसायिक रणनीतिबाट प्रभावित रहेको एनआइसी एशियाले विगत २–३ वर्षमा लामो फड्को मारेको छ । एनआइसीले आक्रमक शाखा विस्तारसँगै रिटेल लेन्डिङलाई आफ्नो बलियो हतियार बनाएको छ ।अहिले देशभर सबैभन्दा बढी शाखा संजाल एनआइसीकै छन् । देशभर करिब ३५० हाराहारीमा शाखा छन् । साथै, डिजिटल बैंकिङमा पनि एनआइसीले उल्लेख्य काम गरेको छ । यही जगमा एनआइसी बैंकिङ लिडर बन्ने होडमा दौडिरहेको छ । र, बन्न सक्ने दाबी पनि वित्तीय सूचक मार्फत गरिरहेको छ ।

त्यस्तै, साढे २ वर्ष अघि जनता बैंकलाई गाभेर बिग मर्जरको सिनर्जी प्राप्त गरेको ग्लोबल आइएमई बैंक पनि बैंकिङ क्षेत्रको लिडर बन्ने होडमा छ । चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो वाणिज्य बैंकको रुपमा रहेको ग्लोबलले फेरि बैंक अफ काठमाण्डूलाई गाभेर चुक्ता पूँजीका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्न लागेको छ ।

ग्लोबल भविष्यमा आफू नै नम्बर बन्ने रणनीतिका साथ अघि बढेको छ । ग्लोबल शाखा सञ्जाल, डिजिटल बैंकिङ, कर्जा विस्तारमा आक्रमक रुपले लागेको छ ।

कुन सूचकमा को अब्बल ?

वर्षौंदेखि अग्रणी बन्दै आएको नबिल र पछिल्ला २/३ वर्ष यता नम्बर १ बन्ने होडमा दौडिएका ग्लोबल र एनआइसी बीच अहिले तीव्र प्रतिस्पर्धा देखिएको छ । यी ३ बैंक बीच को अग्रणी बन्ला, कसले बैंकिङ क्षेत्र लिड गर्ला त्यो भविष्यले नै बताउला ।

तर, गत वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा भने नबिलले आफूलाई एकपटक कमब्याक गराउन सफल भएको देखिन्छ । वासलतमा प्रकाशन हुने मुख्य डेढदर्जन बढी वित्तीय सूचकमध्ये अधिकांश सूचकमा नबिल नै अग्रपंक्तिमा रहेको छ । यहाँ हामीले गत वर्षको चौथौ त्रैमासको वित्तीय सूचकका आधारमा ३ बैंकको तुलना गरेका छौं ।

सेयर लगानीकर्ताहरूले धेरै चासोका साथ हेर्ने मुख्य सूचकहरू वितरण योग्य नाफा, प्रतिसेयर नेटवर्थ, रिजर्भ कोष, बुक भ्यालु जस्ता सूचकमा नबिल बैंक नै अघि रहेको छ ।

त्यस्तै, वितरणयोग्य नाफामा नबिल बैंक धेरै अघि रहेको छ । नबिलको वितरणयोग्य नाफा सबैभन्दा धेरै ९ अर्ब १२ करोड छ । जसबाट ४० प्रतिशतसम्म लाभांश दिन सक्छ । ग्लोबलको ३ अर्ब १९ करोड र एनआइसीको २ अर्ब २४ करोड छ । यसबाट ग्लोबलले १४ प्रतिशत र एनआइसीले २० प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ ।

यस्तै, नबिलको रिजर्भ (सेयर प्रिमियम र रिटेन्ड अर्निङ सहित) झन्डै ३० अर्ब रहेको छ । जबकी ग्लोबलको सवा १३ अर्ब र एनआइसीको साढे १३ अर्ब रहेको छ ।

यस्तै, कर्जा लगानी र निक्षेप संकलनमा पनि नबिल बैंक नै अगाडि रहेको छ । असार मसान्तसम्म नबिलको निक्षेप र कर्जा दुवै ३ खर्ब माथि रहेको छ ।

प्रतिसेयर आम्दानीमा भने एनआइसी एशिया बैैंक अघि रहेको छ । , एनआइसीको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ३९.१३ रुपैयाँ छ । जबकी नबिलको प्रतिसेयर आम्दानी २१.७६ रुपैयाँ र ग्लोबलको २१.८८ रुपैयाँ छ ।

सेयर बजारमा नबिलको भन्दा ग्लोबल र एनआइसीको सेयर मूल्य कम भएका कारण यी दुई बैंकको मूल्य आम्दानी अनुपात पनि कम छ । ग्लोबलको मूल्य आम्दानी अनुपात ११.४९ प्रतिशत, एनआइसीको १७.७९ र नबिलको ३७.८३ प्रतिशत रहेको छ ।

त्यस्तै, प्रतिसेयर नेटवर्थ नबिल नै अघि छ । नबिलको २३०.३ रुपैयाँ, एनआइसीको २१७.५२ र ग्लोबलको १५६.११ रुपैयाँ छ ।

चुक्ता पूँजी, संचालन नाफा, खुद नाफामा भने ग्लोबल आइएमइ अघि रहेको छ । गत वर्ष ग्लोबलले सबैभन्दा धेरै ५ अर्ब २० करोड नाफा कमाएको छ भने नबिलले ४ अर्ब ९७ करोड र एनआइसीले ४ अर्ब ५२ करोड नाफा कमाएको छ ।

खराब कर्जाको कुरा गर्दा नबिल बैंकको धेरै रहेको छ भने एनआइसी एशियाको सबैभन्दा कम रहेको छ । एनआइसीको ०.४९ प्रतिशत मात्र रहेको छ भने नबिलको १.५३ र ग्लोबलको १.२२ प्रतिशत रहेको छ ।

त्यस्तै, आधारदर भने नबिल बैंकको सस्तो रहेको छ । नबिलको आधारदर ८.७७ प्रतिशत मात्र रहेको छ भने ग्लोबलको ९.४० र एनआइसीको ९.२५ प्रतिशत रहेको छ ।

यसरी हेर्दा पछिल्लो समय एनआइसी एशिया, ग्लोबल र नबिल कडा प्रतिस्पर्धी मात्र नभएर लिडर बन्ने होडमा छन् । यी ३ बैंकहरू बीचको रोचक प्रतिस्पर्धा भने अबको भविष्यमा देख्न पाइने नै छ ।

सिभिल बैंकको लोभलाग्दो प्रगति : खुद नाफा साढे २ गुणाले बढ्यो, वितरण योग्य नाफा कति ? Read Previous

सिभिल बैंकको लोभलाग्दो प्रगति : खुद नाफा साढे २ गुणाले बढ्यो, वितरण योग्य नाफा कति ?

वाणिज्य बैंकको नाफा २३ प्रतिशतले बढ्याे, निजीलाई उछिन्दै सरकारी बन्यो धेरै नाफा कमाउने बैंक Read Next

वाणिज्य बैंकको नाफा २३ प्रतिशतले बढ्याे, निजीलाई उछिन्दै सरकारी बन्यो धेरै नाफा कमाउने बैंक