काठमाडौं । वाणिज्य बैंकहरूकाे खुद नाफा २३ प्रतिशतले बढेकाे छ । आर्थिक वर्ष २०७८/८९ मा २६ वटा वाणिज्य बैंकहरूले ७४ अर्ब ४७ कराेड ५४ लाख रूपैयाँ नाफा कमाएका छन् ।
बैंकहरूले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैंकहरुले गत आर्थिक वर्षमा २३.२७ प्रतिशतले खुद नाफा बढाएका हुन्।
गत वर्ष बैंकिङ प्रणालीमा देखिएकाे चरम तरलता अभाव र लक्ष्य अनुसार कर्जा विस्तार गर्न नसके पनि बैंकहरूले गत वर्ष सन्तोजनक रुपमा नाफा बढाउन सफल भएका छन्। समीक्षा अवधिमा बैंकहरूको खुद ब्याज आम्दानी, संचालन मुनाफा बढ्दा र निष्क्रिय कर्जा असुल्न सफल हुँदा नाफामा बढोत्तरी आएको हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार ३ वटा वाणिज्य बैंकको नाफा घटेकाे छ भने बाँकीको बढेकाे छ ।
गत वर्ष सबैभन्दा धेरै नाफा कमाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेकाे छ । पछिल्ला वर्षहरूमा बैंकिङ लिडर बन्न सफल नबिल बैंकले भने व्यवसाय विस्तारमा उछाल ल्याउन सकेन् ।
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा वर्षमा खुद नाफा ३७ प्रतिशतले बढाएर ५ अर्ब २१ करोड रुपैयाँ कमाएको छ। दाेस्राेमा ग्लोबल आइएमई बैंकले ५ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
नेपाल बंगालादेश बैंकलाई गाभेकाे नबिल बैंकले गत वर्ष ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ।
यसैगरी, एनआइसि एशिया बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब बढी नाफा कमाएका छन्।
३ बैंकको नाफामा गिरावट
हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरू मध्ये कृृषि विकास, हिमालयन र सानिमाको खुद नाफामा गिरावट आएको छ ।
सबैभन्दा धेरै कृषि विकास बैंकको ८३ करोड ७४ लाख अर्थात २६.१६ प्रतिशतले नाफा घटेको छ । यस बैंकले गत वर्ष २ अर्ब ३६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने अघिल्लो वर्ष ३ अर्ब २० करोड १५ लाख रुपैयाँ कमाएको थियो ।

दोस्रोमा हिमालयन बैंकको नाफा ५१ करोड ६४ लाख अर्थात १७.२२ प्रतिशतले घटेको छ । हिमालयनले गत वर्ष २ अर्ब ४८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तै, सानिमा बैंकको नाफामा सामान्य गिरावट आएको छ । यस बैंकको नाफा साढे २ करोड रुपैयाँले घटेको छ । समीक्षा अवधिमा २ अर्ब ३१ करोड नाफा कमाएको यस बैंकले गत वर्ष १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ ।
कुनले कति कमाए ?
ग्लोबल आइएमई बैंकपछि एनआइसी एसिया बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ । यस बैंकले गत वर्ष ३७.१८ प्रतिशत अर्थात १ अर्ब २२ करोड रुपैयाँले नाफा वृद्धि गरेको हो ।
समीक्षा अवधिमा एनआइसीले ३ अर्ब २९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ४ अर्ब बढी नाफा कमाउन सफल भएको छ । यसैगरी, एनएमबी बैंकले ३ अर्ब ७० करोड, प्राइम कमर्सियलले ३ अर्ब ६८ करोड, सिद्धार्थ बैंकले ३ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
गत वर्ष कुमारी बैंकले २ अर्ब ८३ करोड, प्रभु बैंकले २ अर्ब ६० करोड, सानिमाले २ अर्ब २९ करोड,स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब २६ करोड, सनराइजले २ अर्ब १५ करोड, सिटिजन्स २ अर्ब २५ करोड, एभरेष्ट २ अर्ब ५४ करोड, माछापुच्छ्र्रे २ अर्ब १६ करोड र एनसीसी बैंकले २ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।