काठमाडौं । गत आर्थिक वर्षको दोस्रो त्रैमासदेखि बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव चालु आवमा पनि कायम रहने देखिएको छ । अपेक्षित रुपमा निक्षेप संकलन नहुँदा तरलता अभाव कायमै रहेको हो ।
सरकारले असारे खर्च बढाउँदा असारमा केही दिन तरलता सहज भएपनि अहिले फेरि अभाव कायमै रहेको छ । वित्तीय प्रणालीमा कायम तरलता अभावले एकातिर उद्योग व्यवसाय संञ्चालन गर्न चाहानेहरुले सजिलै ऋण नपाउने अवस्था छ भने अर्कोतर्फ वित्तीय संस्थाहरुको लगानीको प्रतिफल पनि संकुचन हुने देखिन्छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुको हाल औषतमा सीडी रेसियो ८७.६२ प्रतिशत कायम रहेको छ । यसहिसाबले करिब १ खर्ब बढी लगानीयोग्य रकम बैंकहरुसँग रहेको वाणिज्य बैंकका प्रमुख कार्यकारी बताउँछन् ।
सिभिल बैंकका सीईओ सुनिल पोखरेल बैंकहरु ऋण दिनसक्ने अवस्थामा नरहेको बताउँछन् । ‘ऋण दिनसक्ने अवस्थामा बैंकहरु अहिले पनि छैनन, तरलता अभावको समस्या कायमै छ,’ उनले भने, ‘समग्र बैंकिङ हेर्ने हो भने ८८ प्रतिशतभन्दा माथि सीडी जानु हुँदैन भन्ने लाग्छ, त्यो भनेको १ प्रतिशत कायम हुन्छ, कुल निक्षेपको १ प्रतिशत भनेको ४०/५० अर्ब रुपैयाँ मार्केटमा हुनसक्छ, यदी प्रुडेन्टको हिसाबले हेर्ने हो भने । होइन भने १०० अर्ब जत्ति देखाउँछ ।’
नयाँ आर्थिक वर्षको सुरुमै बैंकहरुसँग तरलता अभाव कायम रहेको बैंकर्स संघ र राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । नयाँ आव लागेसँगै बैंकहरुको निक्षेप घट्दै गइरहेको छ । यसले पनि बैंकहरुको कर्जा लगानी गर्नसक्ने क्षमतामा ह्रास आइरहेको देखिन्छ ।
३० असारमा समग्र वित्तीय प्रणालीमा कुल निक्षेप संकलन ५१ खर्ब ९ अर्ब रुपैयाँ रहेकोमा साउन ११ सम्म आइपुग्दा १ खर्ब ३१ अर्ब रुपैयाँले घटेर ५० खर्ब ५९ अर्ब रुपैयाँमा सिमित भएको छ ।
यसैगरी, गत असार मसान्तमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४५ खर्ब ४ अर्ब रहेकोमा ८४ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ५६ अर्ब रहेको छ । पछिल्लो १२ दिनमा समग्र वित्तीय प्रणलीमा कर्जा विस्तार १० अर्ब रुपैयाँले बढेको छ ।
यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी १२ अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्यांक छ । यद्यपि, बैंकर्स संघको तथ्यांकले भने पछिल्लो ९ दिनमा १७ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुको कर्जा लगानी घटेको दखाएको छ ।
छैन सहज हुने संकेत
चालु आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १२.६ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको छ । निक्षेपको आकार नबढ्ने देखिएपछि सो लक्ष्य पूरा हुनेमा बैंकरहरुकै शंका गरिरहेका छन् ।
गत आवमा १९ प्रतिशले कर्जा विस्तार गर्ने लक्ष्य लिएकोमा तरलता अभावका कारण १४ प्रतिशत भित्र कर्जा विस्तारको आकार सीमित रहेको थियो । यस वर्ष पनि तरलता अभावको समस्या कायम रहने बैंकरहरुको भनाइ छ ।
चालु वर्षको आगामी दिनमा पनि तरलता अभाव सहज हुने स्थिति नरहेको सीईओ पोखरेल बताउँछन् । गत वर्षको मौद्रिक नीतिमार्फत सीसीडी रेसियोलाई सीडी कायम गरेको राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई २०७९ भदौ १ गतेदेखि लागू हुने गरी १ प्रतिशत बिन्दुले वृद्धि गरी ४ प्रतिशत पुर्याइने घोषणा गरेको छ ।
सो व्यवस्थाले बैंक तथा वित्तीय संस्थासँग भएको करिब ५० अर्ब रुपैयाँ राष्ट्र बैंकमा कायम रहने र प्रणालीमा तरलता अभाव झनै चर्किने आकलन गरिएको छ ।
‘सीआरआर ३ बाट ४ प्रतिशत आउने बित्तिकै बैंकहरुको १ प्रतिशत पैसा राष्ट्र बैंकमा रहन्छ, अहिले पनि बैंकहरुको सीडी रेसियो ९० प्रतिशतकै हाराहारीमा छ । यसले कर्जा प्रभावह क्षमतामा खासै असर गर्ने त देखिदैन,’ पोखरेलले भने ।