काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने धमाधम कारबाहीमा पर्न थालेका छन् । दूर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले अप्रेशन चलाएपछि नियम उल्लंघन गर्नेहरु कारबाहीमा पर्न थालेका हुन् ।
यसैक्रममा, बिहीबार एकैदिन काठमाडौं उपत्यकामा २४७५ जना ट्राफिक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ तथा मातहतका कार्यालयहरुले गरेको चेकजाँचमा उनीहरु कारबाहीमा परेका हुन् ।
ट्रफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका १४६ जना, लेन अनुशासन पालना नगरेका , १३० जना, ट्राफिकले भनेको नमानेका ५३ जना, नम्बर प्लेट स्पष्ट नभएका ४० र अन्य २१०६ जना कारबाहीमा परेका छन्।
त्यसैगरी ट्राफिक प्रहरीले ५५ वटा ट्याक्सीलाई कारबाही गरेको छ। मिटरमा जान नमान्ने र पैसाको मोलतोल गर्ने ८ जना, यात्रु लिन इन्कार गर्ने ४७ जना कारबाहीमा परेका छन्।
मादक पर्दाथ सेवन गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने, ट्राफिक लाइट पालना नगर्ने चालकलाई ट्राफिक प्रहरीले सचेतना कक्षासहित जरिवाना गर्छ।