काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाइकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ ।
ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ४वटा स्कुटर सम्बन्धित धनीहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले हस्तान्तरण गरेका हुन् ।
विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदन पश्वात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको वरिष्ठ उपरीक्षक भट्टले बताए।
‘हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा विशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्द्छन, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी विभिन्न प्रहरी वृत्तहरुमा पठाउने गरेका छौं । अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेका छौं,’ उनले भने ।
उनले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखो र सजग हुनुपर्ने बताए । उनले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गरे ।
मोटरसाईकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ ।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।