काठमाडौं । ज्योति विकास बैंकले १४ औं वार्षिकोत्सव मनाएको छ। बैंकले साउन ९ गते सोमबार सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थितिमा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो।
१४ औं वार्षिकोत्सवको अवसरमा बैंकले ज्योति भिडियो बैंकिङ पनि सार्वजनिक गरेको छ। यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोली, बैंक नपुगी तुरुन्तै खाता संचालन गर्न सकिने सेवा सहितको भिडियो केवाइसी सार्वजनिक गरेको हो। यसपछि देश(विदेशमा रहेका नेपालीहरुले पनि अनलाइनबाट खाता खोली संचालनमा ल्याउन सक्नेछन्।
वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका छन्। सोही अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ।
सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत राधा पौडेल फाउन्डेसन संग ‘मर्यादित महिनावारी’ सचेतनामा आधारित परियोजनाहरुमा सहकार्यका लागि सम्झौता गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत भट्ट तथा राधा पौडेल फाउन्डेसनकी संस्थापक राधा पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकले प्रारम्भिक चरणमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता गरेको छ।
ज्योति विकास बैंकको ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ।