वैदेशिक व्यापारमा नयाँ कीर्तिमान, बजेटभन्दा धेरै व्यापार घाटा

काठमाडौं । गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड रुपैँया पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ रहेको व्यापार घाटा गत १ वर्षमा २३ प्रतिशले वृद्धि भएको हो ।

आयातमुखी अर्थसंरचना भएकाले वर्षेनी नेपालको व्यापार घाटा बढ्दै गइरहेको छ । गत वर्ष कुल २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भए पनि आयातको तुलनामा निर्यातको हिस्सा नगन्य हुँदा व्यापार घाटाको आकार दिनानुदिन चुलिँदै गएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा निर्यातमा ४१.७४ प्रतिशतले वृद्धि भएको छ । २०७७/७८ मा कुल १ खर्ब ४१ अर्बको वस्तु निर्यात गरिएकोमा गत वर्षमा २ खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ ।

कुल वैदेशिक व्यापारको आयात अनुपात ९०.५७ प्रतिशत रहेको विभागले जनाएको छ । यसले के देखाउँछ भने, नेपालले साढे ९० रुपैयाँको वस्तु आयात गर्दा साढे ९ रुपैयाँ बराबरको मात्र निर्यात गर्छ ।

सरकारले गत आवमा भन्सार वापत ४ खर्ब ८२ रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।

बजेटभन्दा ठूलो व्यापार घाटा

गत वर्ष तत्कालीन सरकारले अधयादेश मार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयक मार्फत संशोधन गरेर अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ४७ अर्ब रुपैयाँ आकारको बजेट ल्याएका थिए ।

कार्यान्वयन गर्न नसकिने देखिएपछि सो बजेट अर्धवार्षिक समीक्षा, बजेट वक्तव्य र प्रतिस्थापन विधेयक गरेर तीन पटक संशोधन गरिएको थियो । तर,व्यपार घाटाले सरकारको वार्षिक आयव्ययको अनुमानलाई पनि उछिनेको छ ।

गत वर्ष नेपालको व्यपार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको तथ्यांक छ । यस अवधिमा व्यापार घाटाले बजेटलाई करिब १ खर्ब रुपैयाँले पछि पारेको छ ।

सरकारले चालु आवका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ आकारको बजेट ल्याएको छ । गत वर्षको व्यापार घाटा यस वर्षको बजेट हाराहारी पुगेको छ । अपवाद बाहेकका आर्थिक वर्षहरुमा नेपालको व्यापार घाटा बजेटभन्दा कम भएको पाइन्छ ।

भरतसँग मात्र साढे १० खर्ब व्यापार घाटा

नेपालको दक्षिण छिमेकी मुलुक भारतसँग मात्र ५० प्रतिशत बढी व्यापार घाटा हुनेगरेको तथ्यांकहरु छन् । गत आर्थिक वर्षमा भारतबाट नेपालले कुल १२ खर्ब रुपैयाँ बराबरको सामान ल्याएको छ भने १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

यस अवधिमा भारतसँग १० खर्ब ४४ अर्ब रुपौयाँ नेपालले ब्यापार घाटा भोगेको हो । लामो समयदेखि नेपालको व्यापारमा एकोहोरो स्थान ओगटिरहेको भारतसँग वर्षेनि नेपाल ठूलो घाटा बेहोर्न बाध्य छ ।

भारतपछि चीनसँग सबैभन्दा धेरै व्यापार घाटा हुने गरेको छ । समीक्षा अवधिमा चीनसँग २ खर्ब ६३ अर्ब रुपैयाँ घाटा बेर्होनु परेको छ । यसैगरी, इन्डोनेसियासँग ५३ अर्ब २४ करोड,यूएईसँग ४७ अर्ब ४५ करोड,अर्जेन्टिनासँग ३९ अर्ब ६५ करोड,अमेरिकासँग ३२ अर्ब,अष्ट्रेलियासँग २३ अर्ब,युक्र्रेन २१ र मलेसियासँग १६ अर्ब रुपैयाँ गत वर्ष नेपालको व्यपार घाटा रहेको विभागको तथ्यांक छ ।

आयातमा इन्धनको हिस्सा

नेपालमा आयात गरीने वस्तुमा सबैभन्दा धेरै हिस्सा इन्धनको रहेको छ । रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय संकटले इन्धनको चर्को मूल्य बढेको छ । जसको प्रत्यक्ष प्रभाव व्यापार घाटामा परेको छ ।

गत एक वर्षमा नेपालमा सबैभन्दा धेरै आयात गरीने वस्तुको पहिलो नम्बरमा डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्याास रहेका छन् । सबैभन्दा धेरै १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको डिजेल आयात गरिएको छ भने ७१ अर्ब रुपैयाँको पेट्रोल आयात भएको छ ।

यसैगरी, ६५ अर्ब रुपैयाँ बराबरको एलपी ग्याँस,५६ अर्बको स्वायाबिन तेल, ५१ अर्ब रुपैयाँ बराबरको स्टील प्रडक्ट,३९ अर्ब रुपैयाँ बराबरको पाम तेल आयात गरिएको विभागले जनाएको छ ।

एक दशकमा तीन गुणा बढीले बढ्यो

आर्थिक वर्ष २०६८/७९ मा नेपालको कुल वैदेशिक व्यापार घाटा ५ खर्ब ३६ अर्ब २३ करोड रुपैयाँ रहेकोमा गत आवसम्म आइपुग्दा १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

यो पछिल्लो एक दशकमा तीन गुणा बढीले व्यापार घाटा बढेको हो । भन्सार विभागका अनुसार आव २०७०/७१ मा ६ खर्ब ३६ अर्ब ५० करोड रुपैयाँ व्यापार घाटा रहेको थियो ।

२०७१/७२ सम्म आइपुग्दा ७ खर्ब ९ अर्ब ९० करोड पुगेको थियो भने २०७२/७३ मा ७ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ पुगेको तथ्यांक छ ।

२०७३/७४ सम्म आइपुग्दा ९ खर्ब ११ अर्ब ६३ करोड, २०७४/७५ मा ११ खर्ब ६३ अर्ब ५० करोड, आव २०७५/७६ मा १३ खर्ब २१ अर्ब ४२ करोड, २०७६/७७ मा १० खर्ब ९९ अर्ब ८० करोड, आव २०७७/७८ सम्म आइपुगदा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो ।

एचआइडीसीएलको लिलामी सेयर बिकेन, आइपीओकै भाउमा किन्ने अवसर ! Read Previous

एचआइडीसीएलको लिलामी सेयर बिकेन, आइपीओकै भाउमा किन्ने अवसर !

मौद्रिक नीतिपछि नेप्सेमा लगातार उछाल, १ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

मौद्रिक नीतिपछि नेप्सेमा लगातार उछाल, १ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट