काठमाडौं । रुसले बाल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम-वनबाट जर्मनीसहित युराेपेली देशलाई ग्यास पठाउन थालेको छ ।
रूसी–ग्यास कम्पनी ग्याजप्रोमले नियमित मर्मत सम्भारका लागि भन्दै उक्त पाइपलाइन बन्द गरेको १० दिनपछि फेरि ग्यास पठाउन थालेको हो ।
गाजप्रोमले मुख्य पाइपलाइन नोर्ड स्ट्रिम १ मार्फत हुने ग्यास निर्यात असार २८ गतेदेखि रोकेको थियो । गाजप्रोमले आज (बिहीबार)देखि फेरि ग्यास निर्यात सुरु गरेको बीबीसीले जनाएको छ ।
तर पाइप लाइनको क्षमताको ४० प्रतिशत ग्यास मात्रै रुसले युरोपमा पठाइरहेको खबरमा उल्लेख छ । रुसले मर्मतका लागि नोर्ड स्ट्रिम १ मार्फत ग्यास निर्यात रोकेपछि युरोपेली देशले रुसलाई इन्धनमा राजनीति गरेको आरोप लगाउँदै रुसको ग्यास प्रयोगमा सात महिनाभित्रमा १५ प्रतिशतले कम गर्ने चेतावनी दिएका थिए ।
गएको वर्ष रुसले युरोपमा माग हुने ग्यासको ४० प्रतिशत हिस्सा ओगटेको थियो । तर गएको फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको विरोधमा युरोपेली देशले रुसी ग्यासमाथिको निर्भरता कम गर्ने प्रयास गरिरहेका छन् । जर्मनीले ग्यासमा रुसमाथिको निर्भरतालाई ५५ प्रतिशतबाट ३५ प्रतिशतमा झारिसकेको छ । युरोपका अरू देशले पनि विस्तारै रुसी इन्धनमाथिको निर्भरता कम गर्न वैकल्पिक उपायको खोजी गरिरहेका छन् । एजेन्सी