काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । असार २९ गतेदेखि लगातार उकालो लागेको नेप्सेमा १३५ अंकको वृद्धिपछि झिनो अंकको करेक्शन आएको हो ।
बिहीबार सेयर बजार मापक सूचक नेप्से ५.८७ अंकले घटेर २०४४.७१ विन्दुमा आइपुगेको छ । यसदिन २२५ कम्पनीको १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ रुपैयाँ बराबरको ३९ लाख ८ हजार ३९५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ र अन्य बाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १.५२ प्रतिशत घटेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको पौने १८ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ११ करोड र नेपाल पुनर्बीमा कम्पनी ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
सामान्य अंकले घटेको बजारमा आज आइसीएफसी फाइनान्सका डिबेन्चरधनीले सबैभन्दा धेरै ६.७१ प्रतिशत गुमाएका छन् । त्यसैगरी, किसान लघुवित्त ५.३५, साधन लघुवित्त ४.४५, सबैको लघुवित्त ३.८३, लाइफ इन्स्योरेन्स कर्पोरेशन ३.७२ र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ३ प्रतिशत घटेको छ ।