मर्जरपछि बन्ने यी दुई नयाँ कम्पनीले शिखरलाई कडा ‘टक्कर’ दिने, यस्ता छन् मुख्य सूचक

काठमाडौं । अहिले नेपाली बैंक तथा वित्तीय क्षेत्रमा मर्जरको लहर चलिरहेको छ । मुख्यगरी वाणिज्य बैंक र बीमा कम्पनीहरु धमाधम मर्जर सम्झौता गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले असार भित्रै मर्जरमा गए मात्रै घोषणा गरेका झन्डै १ दर्जन सुविधा पाउने बताएपछि वाणिज्य बैंकहरु मर्जरमा जान थालेका हुन् ।

चालु आवमा मात्रै ८ वटा बैंक बीच मर्जर सम्झौता भइसकेको छ । यी मध्ये नबिलले बंगलादेशलाई गाभेर एकीकृत कारोबार समेत सुरु गरिसकेको छ भने हिमालयनले सिभललाई गाभ्ने सम्झौता गरेको छ । मेगा र नेपाल इन्भेष्टमेन्ट बैक तथा ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको पनि मर्जर प्रक्रिया चलिरहेको ।

यसैगरी, बीमा क्षेत्रमा मर्जरको झनै ठूलो लहर चलेको छ । पछिल्लो ३ महिनाको अवधिमा मात्रै १७ वटा बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्झौता गरिसकेका छन् ।

गत चैतमा नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी दोब्बरले बढाएको थियो । समितिले २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमाको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन समयसीमा तोकिदिएके छ । सोसँगै बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका हुन् ।

वैशाख यता (असार ३१ गतेसम्म) ६ वटा निर्जीवन र ९ वटा जीवन बीमा कम्पनीहरु मर्जरमा जाने सम्झौता गरेका छन् । जीवनतर्फ सूर्य लाइफ र ज्योती लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफ, महालक्ष्मी लाइफ र प्रभु लाइफ तथा युनियन लाइफ, प्राइम लाइफ र गुँरास लाइफ बीच एक आपसमा मर्जर सम्झौता भइसकेको छ ।

त्यस्तै, निर्जीवनतर्फ हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, जनरल र सानिमा जनरल तथा लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्जरमा जाने सम्झौता गरेका छन् ।

मर्जरपछि बन्ने दुई कम्पनीले शिखरलाई टक्कर दिनसक्ने

यसरी मर्जर सम्झौता गरेका ८ निर्जीवन बीमा कम्पनीबाट ४ नयाँ कम्पनी बन्नेछन् । हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीमध्ये सम्झौता गरेका कम्पनी मर्ज भएपछि १६ वटा कायम हुनेछन् ।

निर्जीवनतर्फ हालसम्म शिखर इन्स्योरेन्स ‘मार्केट लिडर’को रुपमा रहेको । प्रिमियम संकलन, चुक्ता पूँजी, बीमा कोष लगायत अधिकांश मुख्य सूचकमा शिखर नै शिर्ष स्थानमा रहँदै आएको छ ।

अहिले शिखरलाई नेको र सगरमाथा इन्स्योरेन्सले पछ्याउँदै आएका छन् । हाल मर्जर सम्झौता गरेका ८ कम्पनीपछि बन्ने २ नयाँ कम्पनीले भने अब शिखर इन्स्योरेन्सलाई टक्कर दिन सक्ने देखिएको छ ।

सिद्धार्थ र प्रिमियर तथा लुम्बिनी जनरल र सगरमाथा मर्ज भएपछि बन्ने नयाँ कम्पनीले शिखरलाई टक्कर दिने देखिन्छ । यी कम्प्नी मर्ज भई बन्ने नयाँ कम्पनीको चुक्ता पूँजी, बीमा कोष, रिजर्भ कोष, प्रिमियम लगायत अधिकांश सूचकमा शिखरलाई उछिन्ने देखिन्छ ।

सिद्धार्थ र प्रिमियर १ः१ सेयर अनुपातमा मर्ज हुन लागेका हुन् । यी दुई कम्पनी मर्ज भई बन्ने नयाँ कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड पुग्नेछ । यो शिखरकोभन्दा २३ करोड बढी हुनेछ ।

त्यसैगरी, सिद्धार्थ र प्रिमियर मर्ज भई बन्ने नयाँ कम्पनीको बीमा शुल्क संकलन (जेठसम्मको आधारमा) ४ अर्ब १७ करोड, रिजर्भ कोष ६१ करोड, बीम कोष २ अर्ब, महाविपत्ती कोष १४ करोडको हुने छ । जसमा बीम शुल्क बाहेक सबै शिखर इन्स्योरेन्सकोभन्दा धेरै हुने छ ।

यसैगरी, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स बीच मर्जर भई बन्ने नयाँ कम्पनीको पनि अधिकांश सूचक शिखरकै हाराहारीमा हुने छ । यी दुई कम्पनीबीच १००ः८० सेयर अनुपातमा मर्ज हुने बताइएको छ । यद्यपि, डीडीए रिपोर्टपछि टुंग्याइने जनाइएको छ ।

सगरमाथा र लुम्बिीन मर्ज भई नयाँ कम्पनी बन्दा चुक्ता पूँजी २ अर्ब ५३ करोड (स्वाप रेसियो निर्धारण नभएकले हालको आधारमा हिसाब गर्दा), प्रिमियम संकलन ४ अर्ब १८ करोड, रिजर्भ कोष ९२ करोड, बीमा कोष १ अर्ब ९५ करोड, महाबिपत्ती कोष १४ करोडको हुनेछ । यो कम्पनी पनि अधिकांश सूचकमा शिखरभन्दा ठूलो हुने देखिन्छ ।

हालसम्म वर्चश्व राख्दै आएको शिखरले अब बन्ने नयाँ कम्पनीसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । यद्यपि, समितिले तोकेको चुक्ता पूँजी भने लाभांश् दिएर पुर्याउन सक्ने देखिन्छ ।

अहिलेसम्म कुनै कम्पनीसँग मर्जर प्रक्रिया अघि नबढाए पनि शिखरले मर्जरको लहर चलिरहेकाले अन्य कुनै कम्पनीसँग समर्जरमा जानसक्ने बाटो पनि खुलै छ ।

 

चन्द्रागिरि हिल्सले बढायाे केबलकारको टिकटकाे भाउ, अब कति तिर्नुपर्छ ? Read Previous

चन्द्रागिरि हिल्सले बढायाे केबलकारको टिकटकाे भाउ, अब कति तिर्नुपर्छ ?

साउन १ देखि गाडीको एलसी खुल्ने Read Next

साउन १ देखि गाडीको एलसी खुल्ने