हेटौंडा । वाग्मती प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा लिएको धुलो दूधको कारखानाले अब उत्पादन दिने तयारीमा पुगेको छ । हो ।
हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीको दुई बिघा जमिनमा सरकारले रु ४१ करोड २२ लाख ७१ हजारको लगानीमा निर्माण गरेकोे सो कारखानामा पाउडर प्लाण्टको उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको प्रादेशिक कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
दुग्ध उत्पादक किसानले उत्पादन गरेको दूध खेर जान नदिन प्रदेश सरकारले एक वर्षभित्र हेटौँडामा दुग्ध पाउडर प्लान्ट निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा काठमाडौँ इजी इन्फा प्रालिसँग सम्झौता गरेकोे थियो ।
निर्माणको जिम्मा पाएको कम्पनीले कोरोना महामारीको असरले समयसिमाभित्र निर्माण सम्पन्न गर्न नसकिएको जनाउँदै तीन महिना म्याद थपेर काम गरेको कम्पनीका प्रमुख उत्तम पौडेलले जानकारी दिए ।
उनले अबको दुई महिनामा प्लान्ट पूर्णरुपमा निर्माण सम्पन्न भई सरकारलाई हस्तान्तरण गरिनेसमेत जनाए ।उक्त प्लान्टमा वाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउनका लागि सहज गरिने बताइएको छ ।
प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही जिल्लासहित बागमती प्रदेशका किसानले उत्पादन गरेको दूध खपत गरी पाउडर बनाउने मन्त्रालयको योजना छ ।
पाउडर प्लान्ट सञ्चालनका लागि प्रदेश १ को सुनसरी, धरान, झापा, मधेस प्रदेशको महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा तथा गण्डकी प्रदेशको नवलपरासी, तनहुँलगायत जिल्लाबाट दूध आयात गरिने जनाइएको छ । उक्त प्लान्ट सञ्चालन पश्चात् चार प्रदेशका करिब २२ हजार किसान लाभान्वित हुने मन्त्रालयको अनुमान छ भने किसानबाट दैनिक ६० हजार लिटर दूध खरिद गरिने जनाइएको छ ।
किसानले उत्पादन गरेको दूधबाट दैनिक पाँच मेट्रिक टन पाउडर दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्यसहित मन्त्रालयले काम गरिरहेको छ । प्लान्टबाट उत्पादित पाउडर दूध सातवटै प्रदेशका स्थानीय बजार, होटल र सर्वसाधारण उपभोक्तालाई सहज ढङ्गबाट विक्री वितरण गरिने मन्त्रालयले जनाएको छ ।रासस