मैलुङ-स्याफ्रुबेँसी सडक अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन, ठेक्का तोड्ने तयारी

काठमाडौं । चीनसँगको मुख्य व्यापारिक नाका केरुङ जोड्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक विस्तार अन्तर्गत दोस्रो खण्डको ठेक्का तोडिने भएको छ ।

आयोजनाको दोस्रो खण्ड अन्तर्गत मैलुङ–स्याफ्रुबेँसी १९ किलोमिटर सडक निर्माणको जिम्मा पाएको ठेकेदार काम अलपत्र पारेर सम्पर्कविहीन भएपछि ठेक्का तोड्ने तयारी गरिएकोे हो ।

यस खण्डमा भारत कन्ष्ट्रक्सन एण्ड सिप साई जेभीले ठेक्का लिएको छ । निर्माण कम्पनीले गरेको लापरवाहीका कारण उक्त खण्डको ठेक्का तोड्ने तयारी भएको आयोजनाका सिनियर डिभिजन इन्जिनीयर निरज शाक्यले बताए । निर्माण कम्पनीले निर्माण स्थलबाट काम छोडेर सम्पर्कविहीन भएको उनले बताए ।

‘निर्माण व्यवसायीलाई कारबाहीको लागि प्रक्रिया अघि बढाउने काम भइरहेको छ, अब उसँग ठेक्का तोडेर नयाँ ठेक्का लगाएर काम सम्पन्न गर्ने छाैं,’ शाक्यले चाणक्य पोष्टसँग भने ।

उनले कन्ट्रयाक तोडेर कालोसूचीमा राख्ने काम गरिने बताए । उक्त खण्डको नयाँ ठेक्काका लागि नयाँ स्टिमेट तयार गरेर नयाँ ठेक्का लगाइने उनले बताए ।

निर्माण कम्पनीले अलपत्र पार्दा यो आयोजना समयमै सम्पन्न नहुने उनको भनाइ छ । उनले पहिलो खण्डमा काम भइरहे पनि दोस्रो खण्डमा काम ठप्प रहेको कारण समयमा निर्माण सम्पन्न हुन सम्भव नरहेको बताए ।

‘पहिलो खण्ड गल्छीदेखि मैलुङसम्म काम भइरहेको छ, दोस्रो खण्डको मैलुङदेखि स्याफ्रुबेँसीसम्मको निर्माण ठप्प छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ‘ठेक्का तोडेर फेरि नयाँ ठेक्का प्रक्रिया पूरा गरेर काम सुरू गर्दा तोकिएको समयमा सक्न सकिँदैन ।’

गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी खण्डमा दुई भागमा ठेक्का लगाई काम भइरहेको छ । पहिलो खण्डमा गल्छीदेखि मैलुङसम्म ४६ किलोमिटर खण्डमा हालसम्म ७६ प्रतिशत भौतिक प्रगति भएको छ ।

गल्छीदेखि रसुवागढीसम्म कुल ८२ किलोमिटर लामो सडक रहेको छ । उक्त खण्डमाध्ये नेपालले ६५ किलोमिटर सडक बनाउँदै छ ।
हालसम्म नेपाल तर्फको गल्छीदेखि स्याफ्रुबेँसीसम्म सडक निर्माणका क्रममा ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

कुल आयोजनामा हालसम्म २९ किलोमिटर कालोपत्र भएको छ ।सो मध्ये गल्छीदेखि स्याफ्रुबेँसीसम्मको निर्माणको जिम्मा नेपालले पाएको छ । स्याफ्रुबेँसी–रसुवागढीसम्म चीनले अनुदानमा सडक निर्माण गर्ने सहमती भएको थियो ।

 

ग्लोबल आइएमई बैंक 'युरोमनी अवार्ड फर एक्सलेन्स'बाट सम्मानित Read Previous

ग्लोबल आइएमई बैंक 'युरोमनी अवार्ड फर एक्सलेन्स'बाट सम्मानित

४१ करोड लगानीमा हेटौंडामा धुलो दूध बनाउने कारखाना, उत्पादनको तयारी Read Next

४१ करोड लगानीमा हेटौंडामा धुलो दूध बनाउने कारखाना, उत्पादनको तयारी