कच्चा तेलको मूल्य ५ महिना यताकै सस्तो, प्रतिब्यारेल कतिमा झर्‍यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूलयमा निरन्तर गिरावट आएको छ । कच्चा तेलको मूल्य लगातार ओरालो लागेसँगै ५ महिना यताकै सस्तो भएको छ ।

विश्वव्यापी आर्थिक मन्दी आउने प्रक्षेपण र हल्लाका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५ महिना यताकै सस्तो भएको छ । गत फेब्रुअरीमा रुस युक्रेन युद्ध सुरु भएसँगै आकाशिएको कच्चा तेलको भाउ पछिल्लो दुई महिना यता ओरालो लागेको हो ।

फेब्रुअरी अन्तिममा प्रतिब्यारेल १४० डलरसम्म पुगेको ब्रेन्ट कच्चा तेलको मूल्य बिहीबार (१२ः३० बजेसम्म) प्रतिब्यारेल ९९.३२ डलरमा झरेको छ । त्यस्तै डब्लूटीआई कच्चा तेलको भाउ प्रतिब्यारेल ९५.८७ डलरमा झरेको छ ।

यो पछिल्लो ५ महिना यताकै सस्तो हो । फेब्रुअरीपछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको यो पहिलो पटक हो।

रुसले युक्रेनमा आक्रमण सुरु गरेसँगै अमेरिका र युरोपेली देशहरुले रसियन तेलमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा तेलको भाउ आकाशिएको थियो । तर, पछिल्लो समय युद्ध कायमै रहे पनि अन्य उत्पादक देशहरुले उत्पादन बढाउँदा मूल्यमा केही गिरावट आएको थियो ।

पछिल्लो एक महिना यता विभिन्न अध्ययनहरुले विश्वभर आर्थिक मन्दी आउने प्रक्षेपण गरेपछि तेलको खपतमा समेत केही गिरावट आएको छ । जसकारण कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ ।

यदि विश्वव्यापी आर्थिक मन्दी आएमा यस वर्षको अन्त्यसम्म कच्चा तेलको भाउ प्रतिब्यारेल ६५ डलरसम्म आउने अमेरिकाको सिटी बैंकले चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै नेपाललाई पनि केही राहत मिल्ने देखिन्छ । नेपाल भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । विश्व बजारमा तेलको भाउ घटेपछि भारतमा पनि घट्ने हुँदा नेपालमा पनि केही सस्तोमा आउने छ ।

 

एयर बसको सोलार जहाजले बनायो विश्व कीर्तिमान, अहिलेसम्मकै सबैभन्दा लामो समय उडान Read Previous

एयर बसको सोलार जहाजले बनायो विश्व कीर्तिमान, अहिलेसम्मकै सबैभन्दा लामो समय उडान

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी