काठमाडौं । एउटा विमान निर्माण कम्पनी एयर बसले सबैभन्दा लामो समयसम्म मानवरहित विमान उडाएर नयाँ रेकर्ड कायम गरेको उडान अनुगमन विवरणहरूले देखाएका छन्। सौर्य ऊर्जाबाट सञ्चालन हुने एयर बसको ‘जेफर एस’ नामको मानवरहित विमानले लगातार २६ दिनसम्म उडान गरेर आफ्नै सन् २०१८ को रेकर्ड भङ्ग गरेको हो।
व्यावसायिक विमानहरूलाई अवरोध नपुर्याउन र प्रतिकूल मौसमबाट जोगिन मानवरहित यो विमानले वायुमण्डलको उच्च भागमा उडान गरेको थियो।रातभर हावामा तैरिनका लागि आवश्यक उर्जाका निम्ति यो विमानमा ब्याटरीको प्रयोग गरिएको छ। जसकारण यसलाई इन्धन भर्न रोकिइराख्नु पर्दैन।
उडान सम्बन्धी विवरणहरूमा यो विमान अमेरिकाको एरिजोनास्थित परीक्षण क्षेत्रबाट मध्य अमेरिकाको बेलिजसम्म पुगेको र पुनः फर्किएको देखिन्छ। एयर बसले उडानबारे कुनै प्रतिक्रिया नदिने जवाफ दिएको छ।
अमेरिकी सेनाको एउटा इकाई ‘आर्मी फ्युचर्स कमान्ड’ले ‘द ड्राइभ’सँग कुरा गर्दै पछिल्लो उडान ‘विमानको ऊर्जा सञ्चय क्षमता, ब्याटरीको टिकाउपना, सौर्य पाताको प्रभावकारिता र स्टेसन कायम गर्ने क्षमता परीक्षणका लागि’ गरिएको जनाएको छ। एरोस्पेस म्यागेजिनका प्रधान सम्पादक टिम रोबिन्सनले विमानले पार गरेको दुरी एउटा महत्त्वपूर्ण कोसे ढुङ्गा भएको बताएका छन्।
‘यसले अघिल्लो रेकर्ड राखेको सन् २०१८ मा भन्दा यो पटक बढी उडान गरेको छ,’ उनले भन, ‘यो प्रत्यक्ष देखादेख गरेर हुने सञ्चार सम्पर्कको क्षेत्र भन्दा बाहिर पनि पुगेको छ। यसलाई वास्तविकतामा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे यो महत्त्वपूर्ण अभ्यास हो।’
उनका अनुसार सैन्य प्रयोग वा प्रकोप सहायता जस्ता कार्यमा यस्तो विमानको व्यवहारिक प्रयोगका बारेमा परीक्षण उडानले ढोका खोल्ने काम गरेको छ।
भू-उपग्रहसँग तुलना
यो विमानले भू-उपग्रह जसरी नै तस्बिरहरू पठाउन सक्छ। तर यो पृथ्वीको कक्षमा परिक्रमा गर्ने नभई एक ठाउँमा रहेर निरन्तर जानकारी पठाउन काम लाग्न सक्छ। एक पटक प्रक्षेपण गरेपछि पृथ्वीमा फर्काउन नमिल्ने भू-उपग्रह भन्दा यो विमानमा केही सबल पक्षहरू पनि छन्। त्यो भनेको यो पुनः पृथ्वीमा अवतरण गर्न सक्छ।
‘यो पुनः फर्केर हामी भएको ठाउँमा आउन सक्छ। यसको सेन्सरहरूको र यसमा भएका प्रविधिहरूको पनि स्तरोन्नति गर्न सकिन्छ,’ रोबिन्सन भन्छन्। यो उडानको रेकर्ड सबैभन्दा पछिल्लो सौर्य ऊर्जाबाट सञ्चालन हुने विमानबाट राखिएको हो। विमानको परिकल्पना र निर्माण यूकेमा गरिएको हो। जेफर नामको यो विमान क्रिस केलेहरले आविष्कार गरेका हुन्। तर उनको सन् २०१५ मै मृत्यु भइसक्यो।
एयर बसले तीन वर्षपछि यस्तो प्रकारका विमानहरूको शृङ्खलाबद्ध उत्पादन गर्दै उनको सम्मानमा नाम राखेको थियो। यो समाचार तयार पार्दासम्म पनि विमान आकाशमै उडिरहेको छ र उडान सञ्चालकहरूले २७ दिनसम्मको निरन्तर उडान गरेकोमा खुसीयाली मनाएका छन्।बीबीसी