काठमाडौं । भारत सरकारले गहुँ, चिनि लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने कुरा नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले स्पष्ट पारेका छन् ।
नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज उहांको सम्मानमा महासंघ सचिवालयमा आयोजना गरिएको औपचारिक भेटवार्तामा सो कुरा बताएका हुन् ।
राजदूत श्रीवास्तवको महासंघ सचिवालयमा अध्यक्ष शेखर गोल्छाले स्वागत गरे । स्वागत मन्तव्यका क्रममा अध्यक्ष गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताए ।
‘भारत सरकार, भारतसंगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा छ । तपाईहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ,’ राजदूत श्रीवास्तवले भने, ‘हामी दुवैै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहान्छौं ।’
महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्याबहरूको विस्तार, गैर भंसार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाए । उनले नेपालको भारतसंगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको पनि बताए । लामो समयदेखि मीरगंज पुल बन्न नसकेकोतर्फ ध्यानाकर्षण गराउदै अध्यक्ष गोल्छाले निर्माणका लागि आग्रह गरे ।
त्यसका लागि नेपालमा भारतीय संयुक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको विस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनहरूको निर्यातमा हुने गरेको ढिलाईलाई भारत सरकारले सम्बोधन गर्नुपर्ने बताए । गैर भन्सार अवरोधका कारण मुख्यतया कृषिजन्य उत्पादन र जडिबुटी निर्यातमा समस्या देखिएको छ । यसैगरी, तेस्रो मुलुकसंगको व्यापारका लागि थप दुई बन्दरगाहको प्रयोग गर्ने सुविधाका लागि पनि उनले आग्रह गरे ।
‘सडक, रेल, हवाई र साथै डिजिटल कनेन्टीभीटीमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन भारत सरकार तयार छ,’ उनले भने । ल्याब टेष्टका सम्बन्धमा भारत सरकारले रक्सौलमा अन्तराष्ट्रियस्तको ल्याब स्थापना भएको, काठमाडौंमा रहेको ल्याबलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरि काम भैरहेको बताए । अर्को ल्याब उपयुक्त स्थानमा बनाउन आफूले नेपालका वाणिज्य मन्त्री समक्ष अनुुरोध गरेको पनि उनले बताए । यसमा महासंघकातर्फबाट पनि नेपाल सरकारमा प्रयास हुन सुझाव दिए ।
गैर भंसार अवरोधका सम्बन्धमा महासंघले राखेका गुुनासाहरूतर्फ आफ्नो ध्यानाकर्षण भएको र त्यस प्रकारको अवरोध भएको आफूलाई थाहा नभएकाले त्यस्ता समस्या छन् भने आफूले समाधान गर्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष गोल्छाले महासंघले नेपाल सरकार, भारत सरकार, लगानी बोर्ड नेपाल, भारतीय उद्योग परिसंघको सहकार्यमा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने कार्यलाई अगाडि बढाएकाले सहयोग गर्न अनुरोध गरेपछि राजदूतले यस कार्यमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।