काठमाडौं । रिजर्व बैंक अफ इन्डिया (आरबीआइ)ले भारतीय रुपैयाँमा आयात निर्यात गर्न अनुमति दिएको छ । बीआरआई सोमबार भारतीय आयातकर्ता र निर्यातकर्ताहरुलाई भारुमा व्यापार निर्यात गर्न अनुमति दिएको हो ।
‘भारतबाट हुने निर्यातमा जोड दिएर विश्व व्यापारको वृद्धिलाई प्रवद्र्धन गर्न, अन्तराष्ट्रिय व्यापारमा भारूकाे विश्वव्यापी व्यापारिक समुदायको बढ्दो चासोलाई समर्थन गर्न, इनभ्वाइसिङ, भुक्तानी, र निर्यातको लागि थप व्यवस्था गर्ने निर्णय गरिएको छ,’ बैंक अफ इन्डियाले भनेको छ ।
आरबीआइले भारतीय बैंकहरुलाई सर्कुलर जारी गर्दै भारुमा आयात निर्यात व्यवस्था मिलाउन विदेशी मुद्रा विभाग, मुम्बईस्थित केन्द्रीय कार्यालयबाट पूर्व स्वीकृति लिन भनेको छ । साथै, यसले भारतका एडी बैंकहरूलाई रुपी भोस्ट्रो खाता खोल्न अनुमति दिइएको बताएको छ।
‘यस व्यवस्था अन्तर्गत सबै निर्यात र आयातहरू भारतीय रुपैयाँमा मूल्याङ्कन र इनभ्वाइस गर्न सकिन्छ । र, दुई व्यापार साझेदार देशहरूको मुद्राहरू बीचको विनिमय दर बजार निर्धारण गर्न सक्छन्,’ आरबीआइले सूचनामा भनेको छ ।
आरबीआइले भारतीय मुद्रामा आयात निर्यात गर्न अनुमति दिएसँगै विश्वभर भारतीय मुद्रामा चासो बढिरहेको छ ।
आरबीआइको यो निर्णयले मुख्य दुई वटा फाइदा हुने छ । पहिलो, यसले डलरको मागमा कमी ल्याउने छ भारतीय मुद्राको अवमूल्यनलाई नियन्त्रण गर्न सहयोग गर्नेछ । यस्तो, दोस्रो फाइदा भनेकाे व्यापारमा प्रतिबन्धित मुलुकहरु रुस, इरान लयागत मुलुकसँग सहजसँग व्यापार गर्न सक्नेछन् । रुसमाथि प्रतिबन्ध लगाइएदेखि, भुक्तानी समस्याका कारण देशसँग व्यापार लगभग ठप्प छ।
यस संयन्त्रमार्फत आयात गर्ने भारतीय आयातकर्ताहरूले विदेशी विक्रेताबाट वस्तु वा सेवाको आपूर्तिका लागि इनभ्वाइसहरू विरुद्ध साझेदार देशको संवाददाता बैंकको विशेष भोस्ट्रो खातामा भारतीय रूपैयाँमा भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, निर्याकर्ताले पनि भारतीय रुपैयाँमा भुक्तानी गरेर सामान लैजान सक्नेछन् ।