काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालन गरेका एटीएम बुथमा सुरक्षा गार्ड राख्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको सिस्टम ह्याक गरी रकम निकाल्ने क्रम बढेपछि एटीएम बुथमा २४ सै घण्टा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै राष्ट्र बैंकले एटिएम बुथमा कुनै व्यक्ति वा समूहबाट शंकास्पद गतिविधि भएको शंका लागेमा यथाशीघ्र संस्थाले तोकेको पदाधिकारी तथा निकायमा निकायमा जानकारी गराउने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीमा हुने ह्याकिङ्ग रोक्न हरेक संस्थाले सूचना प्रविधि सम्बन्धमा आकास्मिक सहायता समूह गठन गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।
त्यसैगरी संस्थाको प्रणालीमा कुनै किसिमको साइबर आक्रमण, शंकास्पद गतिविधि वा अनाधिकृत पहुँच भएमा तत्काल सो को जानकारी राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा गराउन निर्देशन दिएको छ ।
हाल देशभरमा बैंक तथा वित्तीय संस्थाहरुका करिब साढे ३ हजार एटीम बुथ सञ्चालनमा रहेका छन् ।
