सरकारी बन्देजका कारण चाडपर्वको समयमा चिनी अभाव

काठमाडौं । पछिल्लो समयमा सरकारले चिनी आयातमा लगाएको परिमाणात्मक बन्देज फुकुवा नगर्दा चाडपर्वको समयमा बजारमा चिनीको अभाव हुने भएको छ ।

 

चिनी आयातमा सरकारले बन्देज लगाउँदा बजारमा यसपटक चिनीको अभाव हुने निश्चित भएको साल्ट ट्रेडिङ् कर्पोरेशनले जानकारी गराएको हो । स्वदेशी उद्योग प्रवर्दनका निम्ती सरकारले गत वर्षदेखि नै चिनीको आयातमा बन्देज लगाएको छ ।

 

बजारमा चिनीको चर्को अभाव भएतापनि आयात खुलाउन सरकार अग्रसर देखिएको छैन । यसरी सरकारी उदासीनताका कारण चाडपर्वजस्तो बढी खपत हुने सिजनमै बजारमा चिनीको अभाव हुने भएको हो ।

 

यससँगै बजार हस्तक्षेपमा महत्वपूर्ण भूमिका खेल्ने साल्ट ट्रेडिङ कर्पोरेसनसँग समेत चिनीको अभाव भएको कर्पोरेशनका नायव महाप्रवन्धक कुमार राजभण्डारीले जानकारी गराएका छन् । उनका अनुसार कर्पोरेशनसँग हाल सञ्चालनमा आएको सुपथ मूल्य पसलमा बिक्री गर्नका लागिमात्रै चिनी मौज्दातमा रहेको छ ।

 

स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्ने नाममा सरकारले चिनीको आयातमा लगाएको परिमाणात्मक बन्देज फुकुवा नहुँदा कर्पोरेशनले यस वर्ष चिनी आयात गर्न नपाएको कर्पोरेशनले बताएको छ । कर्पोरेशनले गतवर्ष ५ हजार मेट्रिकटन चिनी आयात गरको थियो ।

 

उक्त आयातमध्ये हाल करिब १५ सय मेट्रिकटन मात्रै चिनी मौज्दातमा रहेको कर्पोरेशने स्पष्ट पारको हो । बजारलाई एकरुपता राख्न सहयोग गर्ने साल्ट ट्रेडिङसँगै नै चिनीको अभाव भएपछि बजारमा चिनीको मूल्य वृद्धि तथा व्यवसायीद्धारा मनपरी मूल्य लिई उपभोक्ता ठग्नेक्रम बढ्ने समेत निश्चितजस्तै भइसकेको छ ।

 

कर्पोरेशनसँग चिनीको आवश्यक मौज्दात नहुँदा यस वर्ष खुद्रा विक्रेतालाई चिनी बिक्री गर्न नपाएको राजभण्डारीले बताए । “अन्य वर्ष मौज्दात हेरेर खुद्रा व्यापारीलाई समेत चिनी बिक्रि गर्ने गरेको थियौं राजभण्डारी भन्छन्, तर यस पटक भने हामीले खुद्रा व्यापारीलाई चिनी दिन सकेका छैनौ ।”

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको गत वैशाख २ गतेको निर्णय अनुसार चिनीमा लगाइएको आयात बन्देजको म्याद थपभई असार मसान्तसम्म पुगेको थियो । सो थपिएको म्यादलाई नै हेर्दा पनि त्यसको पनि अवधि सकिएको २ महिनाभन्दा बढी भइसकेको छ । यसपश्चात् सरकारले न आयात प्रतिबन्धको म्याद थप गरेको छ न त फुकुवा नै ।

 

भण्डारीकाअनुसार चिनीको मौज्दात कम भएकाले कर्पोरेशनले केही महिनादेखि कम परिमाणमा चिनी बिक्री गर्दै आएको छ । कर्पोरेशनसँग चिनीको मौज्दात नहुँदा यो वर्ष खुद्रा विक्रेतालाई चिनी बिक्री गर्न नपाएको भण्डारीले बताए । असोजको अन्तिमदेखि चिनी बिक्रीका लागि कर्पोरेशन आफैंसँग चिनी अभाव हुने उनले स्पष्ट पारेका छन् ।

 

विगतमा कर्पोरेशनसँग चिनीको मौज्दात सकिएको अवस्थामा निजी क्षेत्रका उद्योगीले फाइदा उठाउँदै चिनीको आफूखुसी मूल्य निर्धारण गर्दै आएका थिए । बजारमा चिनी अभाव भएको समयमा उद्योगीले प्रतिकिलो चिनीको मूल्य एक सय १० रुपैयाँसम्म निर्धारण गरेका थिए ।

 

उद्योगीले गत साउनमै चिनी आयात प्रतिबन्धलाई दशैं–तिहारसम्म थप गर्न माग गरेका थिए । तर सरकारले भने हालसम्म म्याद थपेको छैन भने औपचारिक रूपमा चिनी आयात प्रतिबन्ध फुकुवाको घोषणासमेत गरेको छैन । आधिकारिक रूपमा कुनै निर्णय नहुँदा चाहेर पनि चिनी खरिद गर्ने प्रक्रिया सुरु गर्न पाएका छैनौं’, सह–महाप्रबन्धक भण्डारीले चाण्क्य पोष्टसँग भने ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको गत वैशाख २ गतेको निर्णय अनुसार चिनीमा लगाइएको आयात बन्देजको म्याद थपभई असार मसान्तसम्म पुगेको थियो । सो थपिएको म्यादलाई नै हेर्दा पनि त्यसको पनि अवधि सकिएको २ महिनाभन्दा बढी भइसकेको छ । यसपश्चात् सरकारले न आयात प्रतिबन्धको म्याद थप गरेको छ न त फुकुवा नै ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–प्रवक्ता उर्मिला केसीका अनुसार चिनीको बजार उद्योगीलाई मात्र एकलौटी गर्न नदिन दुई साताअघि आयात फुकुवा गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरिएको थियो ।

 

यसका साथै कर्पोरेशनको लागि १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनी (पहिले नेपाल खाद्य संस्थान) लाई १० हजार गरी कुल २० हजार मेट्रिकटन चिनी आयात गर्न दिने विषयमा समेत मन्त्रालयले अर्थलाई पत्राचार गरीसकेको जानकारी गराईन् । चिनीको बजारलाई सहज बनाउन हामीले अर्थ मन्त्रालयलाई पत्राचार गरेका छौं, तर हालसम्म अर्थबाट कुनै सहमति प्राप्त नभएको उनले स्पष्ट पारिन् ।

 

स्वदेशी उद्योगबाट गत वर्ष १ लाख ८२ हजार मेट्रिकटन चिनी उत्पादन भएको थियो । स्रोतकाअनुसार उद्योगीसँग यसमध्ये करिब ४० हजार मेट्रिकटन हाराहारी चिनी मौज्दातमा छ । नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिकटन चिनीको माग छ । यसबाहेक दशैं, तिहार र छठमा मात्रै बजारमा करिब ३५ हजार मेट्रिकटन चिनीको माग रहन्छ ।

सेयर बजारमा गिरावट जारी, कारोबार रकममा भने झिनो सुधार Read Previous

सेयर बजारमा गिरावट जारी, कारोबार रकममा भने झिनो सुधार

मुटु दिवसको अवसरमा अल्का अस्पतालमा ल्याव परीक्षण निःशुल्क Read Next

मुटु दिवसको अवसरमा अल्का अस्पतालमा ल्याव परीक्षण निःशुल्क