काठमाडौं । पछिल्ला दिनहरुमा लगातार ओरालो लागेको सेयर बजार कारोबार रकममा पनि सुस्तता छाएको छ । सूचकसँगै कारोबार रकम दिनप्रतिदिन घट्दो क्रममा रहेको छ ।
सूचकघटे पनि औसतमा २५ करोडको कारोबार हुँदै आएको बजारमा अहिले २० करोडको हाराहारीमा सीमित भएको छ । बुधबार १६ करोडमा सीमित भएको कारोबारमा आज झिनो सुधार देखिएको छ । समग्र बजार पूँजीकरण १४ खर्ब ३५ अर्बमा संकुचन भएको छ ।
सेयर बजार मापक सूचक नेप्से १.७३ अंकले घटेर ११२९.८० विन्दुमा आइपुगेको छ । आज १६८ कम्पनीको २१ करोड २५ लाख ४१ हजार ३५२ रुपैयाँको कारोबार भएको छ । ७ लाख ९९ हजार १२८ कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्येमा चार वटा समूहको सूचक बढेका छन् भने बाँकी आठ वटा समूहको सूचक ओरालो लागेका छन् ।आज होटल, जीवन बीमा, सामूहिक लगानी कोष र हाइड्रोपावर समूहको सूचक सामान्य अंकले बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १३.६३ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि १.७५ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा माछापुच्छ्रे बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको १ करोड ९४ लाख ६१ हजार ९५५ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा सानिमा बैंक र प्रभु बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । सानिमाको १ करोड २५ लाख र प्रभुको १ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज सिनर्जी पावर डेभलप्मेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशतले बढेके छ भने जोशी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको छ ।