काठमाडौं । चाडपर्व लक्षित सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा भन्दापनि बिगमार्टमा सस्तो मूल्यमा खाद्यय सामाग्री बिक्री भइरहेको विगमार्टले दाबी गरेको छ । कम्पनीले दाबी अनुसार मूल्य हेर्दा केही उपभोग्य वस्तुमा अन्तर पाउन सकिन्छ ।
अहिले सरकारी सुपथ मूल्य पसलमा डीडीसीले उत्पादन गरेको घ्यू प्रतिलिटर ८ सय ५० रुपैंयाँमा विक्री भइरहेको छ भने सोही घ्यू आफूहरुले ८ सय रुपैंयाँमा विक्री गरिरहेको विगमार्टले दाबी गरेको छ ।
चाडपर्व नजिकिँदै गर्दा विगमार्टले ग्राहकलाई सस्तो मूल्यमा खाद्यवस्तु विक्री गरिरहेको पाइन्छ । ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यकासाथ गत बुधवारदेखि सस्तो मूल्यमा खाद्यवस्तु विक्री गरेको कम्पनीले जानकारी दिएको छ । विगमार्टले न्यूनतम दुई रुपैंयादेखि अधिकतम २ सय ५१ रुपैंयासम्म छुटकासाथ सामान विक्री गरिरहेको दाबी गरेको छ ।
चाडपर्वको समयमा विशेषगरी खाद्यवस्तुको कालोबजारी तथा बढी मूल्यमा विक्री गर्ने चलन रहेको हुँदा उक्त समस्याबाट उपभोक्तालाई राहत प्रदान गर्ने लक्ष्यसहित बिगमार्टले सुपथ मूल्यमा खाद्यवस्तु विक्री गरेको जनाएको छ ।

काठमाडौं, भक्तपुर तथा ललितपुरमा सञ्चालन रहेका ३९ वटा विगमार्टका स्टोरहरुबाट सुपथ मूल्यमा सामान विक्री भइरहेको विगमार्टका वित्त प्रमुख विवेक देवले जानकारी दिए ।साथै, बिगमार्टको १०औं वार्षिक उत्सवको अवसरमा चाडपर्वलाई लक्षित सो अफर सञ्चालनमा ल्याएको समेत प्रमुख देवले खुलाए ।
उपत्यकामा रहेका विभिन्न होलसेल पसलले भन्दापनि आफूहरुले कम मूल्यमा सामान विक्री गरिरहेको मार्टको दाबी छ ।‘हाम्रो मार्टमा उपभोक्ताले एउटा सामान खरिदगर्दा न्यूनतम दुई रुपैयाँदेखि २ सय ५१ रुपैयाँसम्म छुट पाउने छन्’ देवले चाणक्य पोष्टसँग भने ।
विगतका दिनहरुमा पनि विगमार्टले विभिन्न नयाँ–नयाँ अफरहरु उपभोक्तामाझ ल्याउँदै आएको छ । हाल चाडपर्व लक्षित सञ्चालनमा आएको सहुलियत पसलमा नुन, तेल, दाल, चिनी, चामल, घ्यूलगायतका दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा विक्री भइरहेका छन् ।

त्यस्तै विगमार्टले बजार मूल्यमा नै तरकारी र फलफूल विक्री गरिरहेको समेत जनाएको छ । हरेक दिन बेलुकाको समयमा विगमार्टले तरकारीमा विषेश छुटको समेत व्यवस्था गरेको छ ।
नेपालमा बिगमार्टको स्थापना
मेगामार्ट प्रालिद्धारा सञ्चालित विगमार्टको पहिलो आउटलेट सन् २००९ मा कमलपोखरी स्थित सिटी सेन्टरमा सञ्चालनमा आएको थियो । पछिल्लो समय उपभोक्तामाझ निकै लोकप्रिय बन्दै गएको विगमार्टको उपत्यका भित्र ३९ वटा आउटलेट सञ्चालनमा आइसकेको छ ।
एउटै छानामुनीबाट उपभोक्तालाई सबै किसिमका दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको विगमार्ट सुपरमार्केटले अबको दुई वर्षमा ६० वटा स्टोर सञ्चालनमा ल्याउने योजना अघि सारेको छ ।
विगमार्टले उपत्यकामा अझै थप स्टोर विस्तार गर्ने तयारी गरेको छ । केही दिनअघि अर्थात असोज ३ गतेमात्रै विगमार्टले हरिसिद्धिमा नयाँ आउटलेट सञ्चालन गरेको छ ।
विगामार्टले बेला बेलामा विभिन्न अफरसहित आफ्ना ग्राहक आकर्षित गर्दै आएको छ । विगमार्टको स्टोरमा एक हजार रुपैयाँभन्दा बढीको सामान किन्दा चिनी प्रतिकेजी ५९ रुपैयाँमा वितरण गर्ने गरेको छ ।
त्यस्तै मार्टले आफ्ना ग्राहकलाई अनलाईन शपिङको समेत सुविधा प्रदान गर्दै आएको छ । पछिल्लो समय मुलुकमा सञ्चालति थुप्रै चर्चित एवम भरपर्दो व्यापारिक केन्द्रमध्ये विगमार्ट पनि एक हो ।