मर्जरको चटारोमा बीमा कम्पनी, कुन–कुन छन् पार्टनरको खोजीमा ?

काठमाडौं । जीवन र निर्जीवन बीमा कम्पनीहरु तोकिएको पूँजी पुर्याउन मर्जरमा जुटेका छन् । गत चैतमा नियामक निकाय बीमा समितिले पूँजी वृद्धि गर्ने निर्णय गरेसँगै बीमा कम्पनीहरु तोकिएको अवधिमा चुक्ता पूँजी पुर्याउने दबाबमा छन् ।

जसको कारण मर्जर तथा प्रााप्तिको उपकरण अपनाइरहेका छन् । समितिले कम्पनीहरुलाई हकप्रद जारी गर्न दिएको छैन भने बोनस सेयरले मात्र पूँजी नपुग्ने देखिएपछि कम्पनीहरु मर्जरमा जान थालेका हुन् ।

पूँजी वृद्धिका लागि मर्जरलाई पहिलो प्राथमिकतामा राखेको समिति बीमा कमपनीको संख्या घटाउने पक्षमा छ । समितिले गत चैत १० मा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब र जीवन बीमा कम्पनीको ५ अर्ब पुर्याउने निर्णय गरेको थियो ।

आगामी आर्थिक वर्षको चैत मसान्तसम्म तोकिएको पूँजी चुक्ता गर्न निर्देशन दिइएको छ । संञ्चालनमा रहेका २० निर्जीवन र १९ जीवन बीमा कम्पनी मध्ये नेपाल लाईफ इनस्योरेन्स बाहेकका बीमा कम्पनीहरु चुक्ता पूँजी पुुर्याउनै पर्ने दबाबमा छन् ।

कतिपय बीमा कम्पनीहरु साधारण सेयर समेत निष्कासन नगरी मर्जरको तयारीमा लगोका छन् । बीमाको पहुँच वृद्धि, संस्थागत स्थायित्व कायम गर्न चुक्ता पूँजी वृद्धि गरेर कम्पनीको संख्या घटाउने समितिको नीति छ ।

यसैगरी,क्रसहोल्डीङ भएका कम्पनीहरुलाई मर्जरमा जान समितिको दबाब छ । मर्जरका लागि विभिन्न सहुलियत दिएर प्रोत्साहन नीति लिएको समितिले चुक्ता पूँजी पुर्याउन नसक्ने कम्पनीहरुलाई फोर्सफूल मर्जर गराउने रणनीति बनाएको छ ।

यी हुन मर्जर सम्झौता गरेका जीवन र निर्जीवन बीमा कम्पनी

हालसम्म ५ वटा जीवन र २ निर्जीवन बीमा कम्पनीहरुले औपचारीक रुपमा मर्जर सम्झौता गरीसकेका छन् । जीवन बीमातर्फ गुराँस, प्राइम र युनियन लाइफ, ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका हुन् ।

१२ असारमा सूर्या लाइफ र ज्योति लाईफ इनस्योरेन्स कम्पनीले मर्जरका लागि सम्झौता गरीसकेका छन् । हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

यी कम्पनीको एक बराबर एकको अनुपातमा मर्जर भए मर्जर पश्चत बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६२ करोड रूपैयाँ पुग्नेछ । यसैगरी, २९ वैशाखमा मर्जर सम्झौता गरेका युनियन, गुँरास र प्राइम लाईफ इन्स्योरेन्सले जेठमा बीमा समितिबाट सैद्धान्तिक सहमति पाइसकेका छन् ।

यी कम्पनीको मर्जरपछि ७ अर्ब बढी चुक्ता पूँजी हुनेछ । निर्जीवन बीमा कम्पनीतर्फ २३ बैशाखमा मर्जर सम्झौता गरेका हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले १० असारमा समितिबाट अन्तिम स्वीकृति पाएका छन् ।

कम्पनीहरुले एभरेष्टको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ किता अर्थात १ः०८५ को स्वाप रेसियो कायम गरेका छन् । हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १८ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

कुन–कुन कम्पनी पार्टनरको खोजीमा ?

समितिले क्रस होल्डिङ भएका ९ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई हटाउन निर्देशन दिएको थियो । क्रस होल्डिङ भएका जीवन बीमा कम्पनी सूर्या लाइफ, ज्योति लाइफले मर्जरका लागि सम्झौता गरीसकेका छन भने नेपाल लाईफ,आइएमई लाइफ, एलआइसी नेपाल र रिलायबल नेपाल लाईफ बाँकी छन् ।

यसैगरी, निर्जीवन बीमा कम्पनीमा नेपाल इन्स्योरेन्स, प्रूडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सलाई क्रस होल्डिङ हटाउनुपर्ने दबाब छ । यी कम्पनीहरु पनि पूँजी वृद्धिका लागि मर्जर तथा प्राप्तिको तयारीमा छन् ।

सानिमा जनरल इनस्योरेन्स कम्पनी मर्जरका लागि पार्टनर खोजीरहेको छ । कम्पनीको १५ असारमा बसेको विशेष साधारणसभाले मर्जरमा जाने अख्तियारी संञ्चालक समितिलाई दिने निर्णय गरेको छ ।

यसैगरी, प्रभुलाईफ र महालक्ष्मी लाईफ इन्स्यारेन्स बिच मर्जरका लागि आन्तरिक छलफल भइरहेको छ । कम्पनीहरुले स्वाप रेसीयो १.ः१ को अनुपातमा मर्जरका लागि सहमतिको तयारी गरिरहेका हुन् ।

प्रभुलाईफको साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गेपछि दुई कम्पनीबिच औपचारीक सम्झौता हुनेछ । यसैगरी, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल, रिलायन्स, सानिमा लाइफ इन्स्योरेन्सले मर्जरको ऐजेन्डा सहित विशेष साधारण सभा राखेका छन् ।

काठमाडौं महानगरले गर्यो एक वर्षमा १६ किलोमिटर सडक कालोपत्रे Read Previous

काठमाडौं महानगरले गर्यो एक वर्षमा १६ किलोमिटर सडक कालोपत्रे

८ वर्षदेखि अलपत्र तिनकुने आर्कब्रिजः सम्झौताको १ महिना बित्दा पनि सुरु भएन डिजाइन Read Next

८ वर्षदेखि अलपत्र तिनकुने आर्कब्रिजः सम्झौताको १ महिना बित्दा पनि सुरु भएन डिजाइन