सरकारले घटायाे प्रतिलिटर पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाएकाे कर कटाैती गरेकाे छ ।

 

शनिबार पत्रकार सम्मेलन गरेर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिलिटर डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेकाे बताएका हुन् ।

 

याेसँगै अब डिजेलकाे प्रतिलिटर १६३ र पेट्रोलकाे १७९ रुपैयाँ पर्ने भएकाे छ ।

 

मन्त्रालयले कर कटाैतीकाे घाेषणा गरेपछि नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्ने भएकाे छ ।

 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालाे लागिरहेकाे छ ।  जसका कारण महंगीले उपभोक्ताकाे ढाड सेकिएकाे भन्दै कर कटाैतीकाे माग सहित चाैतर्फि आवाज उठेकाे थियाे ।

 

भारत, अमेरिका लगायतका देशहरूले पनि पेट्रोलियम पदार्थको मूल्य बढेपछि कर घटाएका छन् ।

 

सरकारले विभिन्न ७ शिर्षक (भन्सार, भ्याट, पूर्वाधार कर, मर्मत शुल्क लगायत)मा कर लिने गरेकाे छ ।

 

सरकारले भारतसँग १३१.९१ रुपैयाँमा किन्ने पेट्रोलमा प्रतिलिटर ६५.६१ रुपैयाँ र १४६.५२ रुपैयाँमा किनेको डिजेलमा ४९.५३ रुपैयाँ कर लिँदै आएको छ ।

 

त्यसमा पनि ढुवानी भाडा, निगमको खर्च, डिलरको नाफा लिने गरेको छ ।

 

जसकारण डिजेल र पेट्रोलको मूल्य खरिदमूल्य भन्दा झन्डै दोब्बर पुगेको छ ।

 

निगमले अहिले १३१.९१ रुपैयाँमा किनेको पेट्रोल १९९ र १४६.५२ रुपैयाँमा किनेको डिजेल १९२ रुपैयाँमा बेच्दै आएको छ ।

 

यद्यपि, खरिद मूल्यभन्दा विक्री मूल्य बढी हुँदा पनि नेपाल आयल निगम ठूलो घाटामा रहेको छ ।

 

निगमलाई अहिले पेट्रोलमा १३.५८ रुपैयाँ र डिजेलमा १३.९५ रुपैयाँ घाटा छ ।

चालु आवमै निगमले ५० अर्ब बढी घाटा व्यहोरिसकेको छ ।

काठमाडौंमा रेल चलाउने बालेनको पनि रहर Read Previous

काठमाडौंमा रेल चलाउने बालेनको पनि रहर

बन्यो ग्वार्को फ्लाईओभरको डिजाइन, काम सुरु गर्ने तयारी Read Next

बन्यो ग्वार्को फ्लाईओभरको डिजाइन, काम सुरु गर्ने तयारी