
काठमाडौं । ललितपुर स्थित ग्वार्कोमा बन्ने फ्लाईओभर निर्माणका लागि ठेक्का लागेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी एम/एस आशिष-समानान्तर जेभीले ठेक्का पाएको हो ।
उक्त कम्पनीले फ्लाईओभरको डिजाई सम्पन्न गरी पेश गरेको सडक विभागले जनाएको छ । विभागले उक्त डिजाइनमा छलफल गरिरहेको छ । ५ दिन अघि मात्र फ्लाईओभरको डिजाइन निर्माण कम्पनीले पेश गरेको हो ।
सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले माघ ५ गते गोरखापत्रमा सुचना निकाल्दै उक्त जेभी कम्पनीले ठेक्का पाएको जनाएको थियो ।
विभागका सिनियर इन्जिनीयर सौरभ बज्रचार्यका अनुसार उक्त फ्लाईओभर १७ करोड ६८ लाख ८८ हजार ८ सय ८ रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लागेको थियो ।
फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । काम सुरु गरेको २ वर्षमा आयोजना सक्ने लक्ष्य रहेको छ । जसमा ४ महिनामा डिजाइन र २० महिनामा निर्माण सम्पन्न गर्नु पर्ने उल्लेख छ । उक्त फ्लाईओभर ४ सय ५५ मिटर लामो हुनेछ ।
सम्झौतापछि एम/एस आशिष-समानान्तर जेभीले तोकिएको समय सिमा भित्रै डिजाइन तयार गरेर सडक विभागलाई हस्तान्त्रण गरेको हो ।
यो फ्लाईओभर निर्माण सम्पन्न भएसँगै ग्वार्को क्षेत्रमा हुने जाम कम हुने अपेक्षा सडक विभागले गरेको जनाएको छ ।