लोपोन्मुख बन्दै चङ्गा व्यवसाय, यस्तो छ चङ्गा उडाउनुको कारण

काठमाडौं । बढ्दो प्रविधिको विकास र समय व्यस्थताका कारण चङ्गा उडाउने प्रचलनमा कमी आएको छ । प्रविधिको विकाससँग–सँगै युवाहरुको त्यसप्रतिको आकर्षणका कारण चङ्गा उडाउने परम्परामा कमी आएको व्यवसायीहरु बताउँछन् ।

 

केही वर्षअघिसम्म निकै चर्चामा रहेको चङ्गा उडाउने परम्परा अहिले आएर संकटमा पर्दै आएको व्यवसायीहरुको ठम्याई रहेको छ ।

 

असनको गल्लीहरु कुनै समय चङ्गाको कारोबारले रङ्गीचङ्गी हुने गरेकोमा अहिले ति गल्लीहरु लगभग सुनसान प्रायः देखिन्छन् ।

 

असन स्थित अन्नपूर्ण काईट हाउसका सञ्चालक अनिल श्रेष्ठका अनुसार करिब ६/७ वर्षअघिसम्म दशैंको समयमा दैनिक ३५/४० हजार रुपैंयाँको कारोबार हुने गरकोमा उक्त चङ्गाको कारोबारमा निकै कमी आएको श्रेष्ठ बताउँछन् ।

 

‘वर्षमा जम्मा ३ महिना चल्ने यो व्यवसाय पछिल्लो समय निकै संकटमा पर्ने थालेको छ । विगतमा नेपालले चङ्गाको उत्पादन गर्दै आएकोमा हाल २/३ वर्षदेखि भने आयातित चङ्गामा निर्भर रहनु परेको छ’ कारोबारमा संग्लगन व्यवसायीहरु बताउँछन् ।

 

‘अहिले चङ्गाको कााेबारमा करिब ८० प्रतिशतले नै कमी आएको छ, दैनिक ४/५ हजार रुपैंयाँको कारोबार गर्न समेत कठीन छ’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

 

यसरी व्यापार घट्नुको मुख्य कारण नयाँ–नयाँ प्रविधिको विकास र युवापुस्तामा मोबाइल प्रतिको बढ्दो क्रेज भएको उनको ठम्याई छ ।

 

विगत २३ वर्षदेखि चङ्गाको व्यापार गर्दै आएका श्रेष्ठ अबको केही वर्षमा चङ्गाको व्यवसाय पूर्ण रुपमा बन्द हुन सक्ने चिन्तामा रहेका छन् ।

 

श्रेष्ठको जस्तै दशैंमा चङ्गा उडाउने परम्परा नै लोप हुन थालेको अर्का व्यापारी बिबेक चित्रकार बताउँछन् । असनमा नै श्री चित्रकार काईटस् स्टोरका सञ्चालक रहेका चित्रकार बढ्दो सहरीकरणका कारण खुला स्थानमा आएको कमी, युवापुस्ताले स्मार्टफोन, भिडियोगेम तथा नयाँ प्रविधि प्रयोगमा आफुलाई व्यस्थ राखेका कारण चङ्गा उडाउने परम्परा मासिदैं गएको उनको ठम्याई छ ।

 

विगत ६/७ वर्ष अघिसम्म असन क्षेत्रमा थुप्रै चङ्गा व्यापारी थिए, चित्रकार भन्छन् तर अहिले ५/७ जना मात्रै यो व्यावसायमा छन् । असनमा मात्रै करिब ५० भन्दा बढीले यस व्यवसायलाई त्यागेका छन् ।

 

चाडपर्व शुरु भएसँगै विगतमा दैनिक १३ देखि १५ हजार रुपैंयाँको चङ्गा बेच्दै आएका उनले अहिले दैनिक ३/४ हजार रुपैंया भन्दा बढीको बिक्री गर्न नसकेको सुनाए ।

चाडपर्व सुरु भएसँगै चङ्गाको व्यापार पनि सुरु हुने गरेको छ । अन्य व्यवसायजस्तो १२ महिना नै यसको कारोबार हुँदैन ।

 

‘वर्षमा जम्मा ३ महिना चल्ने यो व्यवसाय पछिल्लो समय निकै संकटमा पर्ने थालेको छ । विगतमा नेपालले चङ्गाको उत्पादन गर्दै आएकोमा हाल २/३ वर्षदेखि भने आयातित चङ्गामा निर्भर रहनु परेको छ’ कारोबारमा संग्लगन व्यवसायीहरु बताउँछन् ।

 

विगतको समयमा नेपालमा उत्पादीत चङ्गा आन्तरिक खपतमात्र नभई केही मात्रामा भारत समेत निर्यात हुने गरेको थियो । व्यवसायीहरुका अनुसार स्वदेशमै उत्पादन हुने चङ्गाको खपत हुनै छोडेपछि हाल उत्पादन बन्द गर्नुपर्ने अवस्था आएको हो । अहिले नेपालमा चङ्गाको उत्पादन पूर्ण रुपमा नै बन्द भएको छ ।

 

आखिर के छ चङ्गासँग दशैंको नाता ?

 

धार्मिक मान्यता अनुसार, दशैंमा चङ्गा उडाउनुको प्रमुख कारण भने खेतीबालीकालागि आवश्यक पानी पुग्यो भन्ने सन्देश भगवान इन्द्रकोमा पुर्‍याउनुलाई मानिन्छ । खेती किसानीको काम सकिएपछि चाडपर्वको लहर सुरु हुने यस समयमा चङ्गा उडाउने चलन विगतमा निकै रहेको थियो । अर्कोतिर उक्त परम्परालाई मनोरञ्जनको रुपमा समेत लिइन्छ ।

 

वर्षा ऋतुको समाप्ती र शरद ऋतुको आगमनसँगै मनमोहक मौसमको आनन्द लिदैं चङ्गा उडाउनुलाई मनोरञ्जनको विषयसँग जोडेको पाइन्छ ।

 

चङ्गा र दशैं एकअर्काको पर्याय झैं लाग्ने गर्छ । आकाशमा चङ्गा नउडेसम्म दशैं आएको अनुभव नहुने र चहलपहल सुरु नहुने पुरानो मन्यता थियो । तर, हालभने आकाशमा खासै चङ्गा उडेको देखिदैन । चङ्गाको साइनो रमाइलोसँग मात्र नभई मौसमी अवस्थाबारे जानकारी गराउनेलाई समेत बुझिन्छ ।

 

कोरियामा चङ्गामा बच्चाको नाम र जन्ममिति लेखेर उडाउने चलन रहेको छ । यसले बच्चाको दशा काट्नुका साथै बच्चालाई स्वस्थ राख्न सहयोग पुर्‍याउने मान्यता छ ।

 

चङ्गा उडाउनुलाई खुला र मोहक मौसमको सूचकको रुपमा लिइने चलन परापूर्व समयदेखि चल्दै आएको हो ।

 

विजय र वर्चश्वको संकेत दिएर चाडवर्पमा उडाईने चङ्गालाई एक रोमाञ्चक खेलमात्र नभई जीवन दर्शनसमेत मान्न सकिने अग्रजहरुको बुझाई छ । दशैंमा उडाईने चङ्गालाई उमंग, स्वच्छन्द एवम उचाईको प्रतिक मानिन्छ । चङ्गा उडाउँदा आफ्नो दुःख, पीर, दम्भ, रिसराग भुल्ने र मनमा एक प्रकारको उमंग छाउने विश्वास रहेको पाइन्छ । यसले आफूभित्रको महत्वकांक्षालाई जगाउनुका साथै आकाशझैं उचाईमा पुग्नुपर्ने सन्देश दिने बुझाई छ ।

 

चङ्गाको इतिहास हेर्दा निकै लामो देखिन्छ । चङ्गाको आविष्कार चीनको इशापूर्व तेस्रो शताब्दीमा भएको भेटिन्छ । चिनीयाँ दार्शनिक हुआगं थेगले पहिलो पटक चङ्गाको आविष्कार गरेको पाइन्छ । यसरी हेर्दा चङ्गाको इतिहास २३ सय वर्ष पुरानो रहेको छ ।

 

विश्वभरीकै आकाशमा उड्ने चङगाको देश अनुसार आ–आफ्नै महत्व बोकेको छ । नेपालमा यसलाई धार्मिक एवम मनोरञ्जनसँग जोडिएको पाइन्छ भने अन्य कतिपय देशहरुमा शगुन तथा अपशगुनसँग जोडिएको छ । धागोले बाँधिएको र लट्टाईले नियन्त्रण गर्ने चङ्गाले अनेक मान्यता बोकेको पाइन्छ । प्राचिन इतिहासलाई हेर्ने हो भने चीन र जापानमा चङ्गाको प्रयोग सैन्य उद्देश्यका लागि गरिएको भेटिन्छ ।

 

त्यस्तै चीनमा राजा राजवंशको क्रममा उडेको चङ्गालाई यतिकै छोड्नु भनेको दुर्भाग्य र रोगलाई निम्तो दिनु मानिन्थ्यो । यसैगरी कोरियामा चङ्गामा बच्चाको नाम र जन्ममिति लेखेर उडाउने चलन रहेको छ । यसले बच्चाको दशा काट्नुका साथै बच्चालाई स्वस्थ राख्न सहयोग पुर्‍याउने मान्यता छ ।

कुरिनटारमा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा Read Previous

कुरिनटारमा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा

फेरि पनि ह्याकरको निशानामा नेपाली बैंक, कृषि विकास बैंकबाट लुटियो २ करोड Read Next

फेरि पनि ह्याकरको निशानामा नेपाली बैंक, कृषि विकास बैंकबाट लुटियो २ करोड