ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू बीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने भएका छन् ।

 

बिहीबार प्रारम्भिक समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

 

मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ‘ग्लोबल आइएमई बीओके लिमिटेड’ हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

 

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।

 

मर्जरपछि यत्रो बन्ने छ बैंक

 

मर्जर पश्चात् बैंकको कुल पूँजी ५२.२९ अर्ब, चुक्ता पूँजी ३४.४१ अर्ब, कुल निक्षेप ३८४ अर्ब, कुल कर्जा ३८० अर्ब रूपैयाँ सहित कूल पूँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।

 

साथै, दुवै बैंकले जेष्ठ मसान्त सम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयसहित देशकै सबैभन्दा ठूलो बैंक हुनेछ ।

 

मर्जरपछि बन्ने ग्लोबल आइएमई बीओके लिमिटेडमा गाभिने बैंक तथा वित्तीय संस्थाको संख्या २१ पुग्नेछ । जसमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गकम्पनी रहेका छन् ।

 

दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाकोपूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।

 

बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्य ः अध्यक्ष ढकाल

 

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताए ।ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधै पहिलो हुने गरेको भन्दै तदअनुरुप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए । उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

यस्तै, बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा आजको दिन सधै संस्मरणमा रहने बताए। उनले मर्ज हुनु प्राकृतिक प्रकृया हो तर मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताए । उनले नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा विस्वास प्रकट गरे ।

बैंकहरूलाई मर्जरको चटारो, धमाधम छलफलमा जुट्दै Read Previous

बैंकहरूलाई मर्जरको चटारो, धमाधम छलफलमा जुट्दै

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का Read Next

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का