काठमाडौं । दक्षिण कोरियामा ट्रक र लरी चालकहरू हडतालमा उत्रिएका छन् । इन्धनको मूल्य बढ्दै गएपछि ट्रक चालकहरूले थप पारिश्रमिक र सरकारी अनुदानको समयावधि बढाउन माग गर्दै हडताल गरेका हुन् ।
दक्षिण कोरियामा करिब ४ लाख २० हजार लरीरट्रक चालकहरू रहेका छन् । उनीहरुले बढ्दो महँगी धान्न सक्ने गरी तलब पारिश्रमिक बढाउन माग गर्दै ८ दिनदेखि हडताल गरिरहेका हुन् ।
जुन ७ मा सुरु भएको हडताल अन्त्य गर्न दक्षिण कोरियाका अधिकारीहरू र कार्गो ट्रक्स सोलिडारिटी युनियन बीच हालसम्म कुनै सम्झौताको नजिक पुग्न नसकेकाले हडताल कहिलेसम्म जारी रहन्छ भन्ने अनिश्चित छ ।
चालकहरू हडतालमा उत्रिएसँगै अटो र स्टील उद्योग प्रभावित बनेका छन् । उत्पादन भएको वस्तु राख्ने ठाउँ नभएपछि कार कम्पनी र स्टील उद्योगले उत्पादन कटौती गर्न थालेका हुन् ।
विश्वकै ठूलो मध्येको एक कार निर्माता कम्पनी हुन्डाई र स्टील उत्पादक पोस्को उक्त हड्तालबाट धेरै प्रभावित कम्पनीहरू हुन्। कार र स्टिल अघिल्लो वर्षको तुलनामा यो महिनाको पहिलो १० दिनमा निर्यात झण्डै १३ प्रतिशतले घटेको कम्पनीले जनाएका छन्।
दक्षिण कोरिया कारदेखि इलेक्ट्रोनिक्स र कम्प्युटर चिप्ससम्मका सामानहरूको प्रमुख उत्पादक हो । सोमबार दक्षिण कोरियाको सबैभन्दा ठूलो कार निर्माता हुन्डाईले दक्षिण पूर्वी शहर उल्सानमा रहेको आफ्नो सबैभन्दा ठूलो उत्पादन कारखानामा आंशिक उत्पादन अवरोध भएको बताएको ।
देशको सबैभन्दा ठूलो स्टिल निर्माता पोस्कोले पनि आफ्ना कारखानाहरूमा केही उत्पादन स्थगित गरेको जनाएको छ। तयारी उत्पादनहरू भण्डारण गर्न ठाउँ छैन। हड्तालका कारण हालको स्टक अन्य देशमा पठाउन नसकेको कम्पनीले जनाएको छ।
भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले गत शनिबार आठ घण्टाभन्दा बढी समय युनियन प्रतिनिधिहरूसँग लजिस्टिकलाई सामान्य बनाउने उपायहरू बारे छलफल गरे पनि सहमति हुन सकेन। ‘हामी यो अवस्थालाई सकेसम्म चाँडो समाधान गर्न वार्ता जारी राख्ने योजनामा छौं,’ मन्त्रालयले जारी विज्ञप्तिमा भनेको छ।एजेन्सी