काठमाडौं । मुग्लिन–पोखरा सडक खण्ड विस्तारको काम नयाँ मोडलमा गरिने भएको छ । सडक विभागका अनुसार पहिरो जान नदिने गरी नयाँ मोडालिटीमा मुग्लिन पोखरा सडक विस्तार गर्न लागिएको हो ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले परम्परागत रूपमा नभई सेफ डिस्पोजल सहितको बायो इन्जिनीयरिङ मोडालिटीमा मुग्लिन–पोखरा सडक विस्तार हुने बताए ।
८० किलोमिटर लम्बाइ रहेको यस सडक खण्डमा १७ अर्ब रुपैयाँ लगानी गरेर नयाँ मोडालिटीमा विस्तार गर्न लागिएको उनले बताए । उनले दमौलीको खिरगन भन्ज्याङमा ठूलो भीर भएका कारणले काम गर्न अफ्ठेरो हुने बताए । उक्त स्थानमा सडक विस्तार गर्ने क्रममा खन्दा माटो नझर्ने गरी र झरेको माटो त्यहीँ नफ्याँकी अन्तै डिस्पोजल गर्ने तरिकाले काम गरिने बताए ।
‘मुग्लिन–पोखरा खण्डमा धेरै भीर छैन, दमौलीको खिरगन भन्ज्याङ अगाडी निर मात्र अलि अफ्ठेरो हो, अन्य सबै सहजै विस्तार गर्न सकिन्छ,’ थापाले चाणक्य पोष्टसँग भने ।
४ लेनमा विस्तार हुन लागेको यो सडकमा पोखरादेखि आँबुखैरेनीसम्म सडक विस्तार गर्न लागिएको हो । आँबुखैरीनीबाट मुग्लिनसम्म भीर काट्दा पहिरो मात्र निस्किने भएकाले उक्त खण्डमा दुवैतर्फ २/२ लेनको सडक बनाइने उनले बताए । उनका अनुसार पारीपट्टी अर्को २ लेनको सडक बनाइने छ । वारी रहेको २ लेनको सडकलाई यथास्थितीमा निर्माण गरिनेछ ।
२०७६ को कात्तिक महिनाबाट सुरू भएको मुग्लिन–पोखरा सडक विस्तार विभिन्न कारणले रोकिएको थियो । कोभिडले गर्दा गति लिन नसकेको यस सडक विस्तारले अब भने गति लिने उनले बताए ।
उनका अनुसार ३ वर्षभित्र निर्माण पूरा गर्ने गरी काम निर्माण कम्पनीलाई टुंगो लगाइएको छ । विस्तार आयोजना पुरानै निर्माण व्यवसायीले सो मोडलमा बनाउने छन् ।
मुग्लिन–पोखरा खण्डको पहिलो प्याकेजका लागि सीसीसी (चाइना कम्युनिकेसन कम्पनी) ले ठेक्का पाएको छ । सो कम्पनीसँग आँबुखैरेनीदेखि पोखरासम्म ८० किलोमिटर सडक विस्तारको ठेक्काका लागि सम्झौता भएको हो । कम्पनी सडक विस्तारका लागि फिल्डमा मोबिलाइज भइसकेको थापाले बताए ।
आगामी सन् २०२५ सम्ममा निर्माण पूरा गर्ने लक्ष्य सहित पहिलो चरणमा आँबुदेखि पोखरासम्मको ८०.३३ किलोमिटर सडक खण्डमा काम सुरू गरिन लागेको छ । पहिलो चरणको डीपीआर क्यानाडाको कम्पनीले बनाएको थियो । यसअघि २०२० भित्र सुरू गर्ने भनिएको मुग्लिन – पोखरा सडक खण्ड बल्ल सुरू हुन लागेको हो । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्न लागेको सो सडक खण्डमा पहिलो चरणमा तनहुको आँबुखैरेनीदेखि पोखरासम्म काम सुरू हुने भएको छ ।