काठमाडौं । मुख्य मुद्दामा पस्नु अघि दुईवटा सामान्य विषयमा पहिले चर्चा गरौं ।
पहिलो विषय : नेपालको सबैभन्दा ठूलो समस्या के हो भनेर कोही सामान्य नेपालीलाई सोध्नुभयो भने धेरैले भ्रष्टाचार भन्लान् । केहीले नेता कमशल हुनु भन्लान् । अझ, केहीले सतीले सराप्नु नेपालको प्रमुख समस्या हो भन्ठानेका छन् । यो सूची त लामै जान्छ ।
तर, अलि गहिरिएर विचार गर्ने हो भने नेपालको सबैभन्दा ठूलो समस्या जवाफदेहीताको देखिन्छ । नेपालको कुनै जिम्मेवार संस्था र पदाधिकारीहरू आफ्नो कदम र निर्णयको जवाफदेहीता लिन तयार देखिँदैनन् ।
चौधरी समूहले आफ्नो वक्तव्यबाजी र तथ्यांकमार्फत मैले धेरै लिएको होइन वा नाफा धेरै खाएको होइन यो हाम्रो समग्र व्यवसाय गर्नेहरूकै तरिका हो भनेर होलसेल जवाफ दिइरहेको छ ।
समस्यालाई यसको वा उसको टाउकोमा हालिरहन्छन् । संसदमा रासायनिक मलको आपूर्तिमा प्रतीपक्ष दलले ‘माल बिना मल आउँदैन’ भनेर सरकारलाई प्रश्न गर्यो भने सरकारवादी दलका नेताले यो अघिल्लो सरकारले गर्दा हो भनेर उल्टै आरोप लगाइहाल्छन् । फलस्वरूप सामान्य मानिसले पत्तै पाउँदैन कि समस्या कसको कारणले र कसरी सृजित भएको हो भनेर । विधि, प्रक्रिया र संरचनामा कहाँ गडबडी भयो भनेर उसले मेसो पाउँदैन । अनि उसले नेपालको समस्या नै सतिले सराप्नु हो भनेर किन नभनोस् ?
दोस्रो विषय : नेपालमा लोकतन्त्र छ भनेर भनिन्छ सामान्यतः । तर, यहाँ लोकतन्त्र छैन । दलतन्त्र भने छ । दलहरूले यहाँ यत्र तत्र सर्वत्र कब्जा गरेका छन् । लोकतन्त्र भनेको त स्वच्छन्दताको तहसम्मको वैव्यक्तिक स्वतन्त्रताको कुरा हो ।
तर, यहाँ त राजनीतिक रूपमा विभाजित नभएको सामान्य मानिस समेत गाह्रो भइसक्यो । सबै व्यवसायिक संघ संस्थादेखि विद्यार्थी, प्राध्यापक हुँदै सामान्य मानिसहरू समेत राजनीतिक रूपले विभाजित छन् । यसले गर्दा अवस्था कस्तो भएको छ भने ‘शेरबहादुर देउवाले खत्तम गरे’ भनेर कसैले भन्यो भने ‘केपी ओलीले चाहिँ कस्तो गरेका थिए र ?’ भनेर अर्काले जवाफ फर्काइहाल्छ । मुद्दा वा विषयगत रूपमा यो सही वा यो गलत भन्न सक्ने अवस्था छैन । देउवाले गलत गरे भन्नका लागि ओलीको जिम्मा लिइदिनुपर्ने हुन्छ ।
यो दुईवटा नेपालको चारित्रिक विशेषतासँग जोडिएको एउटा घटना अहिले बजारमा खुब चर्चामा छ ।
यता, सडक भनौं वा सोसियल मिडियामा चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेपाल ल्याएको नेटा भी गाडीको मूल्य धेरै भयो भनेर आमउपभोक्त कराई रहेका छन् । तर, सिजी मोटरका प्रबन्ध निर्देशक निर्वाण चौधरी अन्य ब्राण्डले कति नाफा खान्थे हेर भनेर अन्य कम्पनीको भन्सार प्रज्ञापनपत्र देखाउँदै आफ्नो बचाउ गरिरहेका छन् । उनको यो बचाउ गर्ने तरिका माथि चर्चा गरिएको दुई चारित्रिक विषयसँग ठ्याक्कै मिल्छ । प्रश्न उनलाई सोधिएको थियो तर, उनले अरुको समेत होलसेलमा जवाफ दिए । जवाफदेहीताको पनि ख्याल गरेनन् ।
मान्नुस निर्वाणको कम्पनीका कुनै कर्मचारीले केही काम प्रभावकारी ढंगले गरेनन् । र, उनलाई निर्वाण वा ‘स्ट्रङ टास्क मास्टर’ भनेर चिनिएका उनका बा विनोद चौधरीले त्यसको बारेमा सोध्दा ती कर्मचारीले आफ्ना अर्का सहकर्मीलाई देखाउँदै ‘उनले पनि गरेका छैनन् नि’ भनेर जवाफ फर्काए भने निर्वाण वा विनोदले के गर्लान् । विनोदको ‘स्टाइल अफ म्यानेजमेन्ट’लाई हेर्ने हो भने ती कर्मचारीले सायद अर्को दिन हाजिर गर्न पाउने छैनन् ।
तर, निर्वाण आफैं चाहिँ किन यसरी प्रस्तुत भए जसरी उनका कर्मचारीहरू उनका अगाडि प्रस्तुत भए भने सायद उनी सहन सक्दैनन् ? यो ‘दोहोरो मापदण्ड’ हो । माथि चर्चा नगरिएको तर नेपालको अर्को प्रमुख चारित्रिक विशेषता हो, दोहोरो मापदण्ड ।
चौधरीको कदमले नेपालमा गाडीको मूल्य निर्धारण प्रक्रियाको विषयमा सबै व्यवसायीलाई झस्काएको छ भने आम उपभोक्तालाई बहस गर्न सक्ने बनाएको छ । यसले भोलिका दिनमा उपभोक्ता अधिकारलाई थप बलियो बनाउने छ ।
यसलाई पनि पनि निर्वाणले राम्रैसँग बोकेको देखियो । बहुर्राष्ट्रिय कम्पनीका मालिक भए पनि यो मुद्दामा तमाम राष्ट्रिय विशेषताहरू सहितका ‘सक्कली राष्ट्रवादी व्यापारी’ देखिए निर्वाण । निर्वाण चौधरीको भनाइ आफ्नो कमजोरी लुकाउन गरिएको भद्दा मजाक हो । तर, आम उपभोक्ता र संसदमा प्रतीपक्ष दलका सांसदका चासो भने उनीहरूको अधिकार हो ।
कर्तव्य र अधिकारको विषयमा मानिसहरू विचलित भएपछि प्रणालीमै समस्या देखिन्छ । त्यसको असर आमनागरिकले भोग्नु पर्छ । सरकार आफ्नो कमजोरी देखिएपछि त्यसलाई ढाकछोप गर्न संसदमा रहेको आफ्नो बहुमत सदस्यको बलमा ठूलो स्वरले चिच्याएर प्रतीपक्षको आवाज कुल्चन खोज्छ । त्यसैगरी, चौधरी समूहले आफ्नो वक्तव्यबाजी र तथ्यांकमार्फत मैले धेरै लिएको होइन वा नाफा धेरै खाएको होइन यो हाम्रो समग्र व्यवसाय गर्नेहरूकै तरिका हो भनेर होलसेल जवाफ दिइरहेको छ ।
जसरी उनले टेबल नै बनाएर बजारमा उपलब्ध नेक्सन, एमजी जेडएस र बीवाइडी ई–सिक्ससँग आफ्नो गाडीको मूल्य दाँजेका छन्, यसले माथि उल्लेख गरिएका धेरै कुराको पुष्टि गर्छ ।
हेरौं चौधरीको ट्वीट

निर्वाण चौधरीको ट्वीटको अर्थ कसरी लगाउने भन्ने विषयमा अटोमोबाइल व्यवसायी बीच नै दुविधा देखिएको छ । उनले आफूलाई प्रमाणित गर्न जुन शक्ति खर्चेका छन्, त्यसले पनि उनले उठाएको विषयलाई प्रमाणित गर्न सक्दैन ।
उनले टेबलमा देखाएको गाडीमध्ये सबैभन्दा कम मूल्यको गाडी उनकै छ भने सबैभन्दा धेरै नाफा बीवाइडी ई–सिक्समा देखिएको छ । तर, यहाँ बुझनु पर्ने अर्को विषय आयातकर्ताको खर्च पनि मुख्य हो ।
गाडीको मूल्य तोक्नु अघि गाडी विक्रेताको पूर्वाधारमा कति लगानी छ ? कुन स्तरको सर्भिस सेन्टर स्थापना भएको छ ? कति डिलर नेटवर्क तयार भएका छन् ? कर्मचारीको खर्च कति हुन्छ ? बैंकमा औषत बुझाउनु पर्ने ब्याज कति हुन्छ ? भन्ने विषय बुझ्न जरुरी छ । यसका अलावा गाडीको वेटिङ पिरियड, चार्जिङ पूर्वाधार निर्माण र ब्राण्डिङमा कति रकम खर्च गर्दैछ भन्ने विषयले पनि मूल्यमा फरक पार्छ ।
निर्वाण चौधरी उल्लेख गरेका ब्राण्डहरूको शाखा सञ्जाल राम्रो बनिसकेको छ । यी सबै कम्पनीले तीव्र रूपमा फास्ट चार्जर राखिरहेका छन् । कर्मचारीमा पनि ठूलै लगानी गरेको देखिन्छ । कुनै पनि पूर्वाधर निर्माण विनै आफूले गरेको मूल्य निर्धारणलाई ठीक हो भन्ने प्रमाणित गर्न चौधरीले हतार गरेको देखिन्छ ।
अन्त्यमा, चौधरीको कदमले नेपालमा गाडीको मूल्य निर्धारण प्रक्रियाको विषयमा सबै व्यवसायीलाई झस्काएको छ भने आम उपभोक्तालाई बहस गर्न सक्ने बनाएको छ । यसले भोलिका दिनमा उपभोक्ता अधिकारलाई थप बलियो बनाउने छ ।