काठमाडौं । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन एक प्रमुख समस्या बन्दै गएको छ । उचित फोहर व्यवस्थापन हुन नसक्दा देशका अधिकांश ठूला सहरका सडका फोहरको थुप्रो देखिन्छ ।झन् देशको संघीय राजधानी समेत रहेको काठमाडौंमा त महिनौंसम्म सडकमै फोहर थुप्रिने गरेको छ । जसले पैदल यात्रु र सवारीसाधन आवतजावतमा समेत समस्या पार्ने गरेको छ ।
जति सरकार फेरिए पनि काठमाडौंको फोहरको दीर्घकालीन व्यवस्थापन हुन सकेको छैन । सरकारको अदूरदर्शीता र वेवास्ताले फोहर व्यवस्था पनि किनै जटिल र चुनौतीपूर्ण समेत बन्दै गएको छ । ठूला सहरी क्षेत्रमा टाउको दुखाई बनेको फोहरलाई केहीले भने मोहर बनाउन सफल भएका छन् । यसकै पछिल्लो उदाहरण हो सुनसरीको धरान उपमहानगरपालिका ।
यहाँ फोहरबाट सीएनजी (कम्प्रेस्ड नेचुरल ग्यास) र कम्पोष्ट मल उत्पादन गरिन्छ । जसले एकातिर सहजै फोहर व्यवस्थापन भएको छ भने अर्कोतर्फ त्यही फोहरबाट आम्दानी समेत हुने गरेको छ । ‘भेन्चर वेस्ट टू इनर्जी’ कम्पनीले आफ्नो प्लान्ट संचालनमा ल्याएसँगै फोहोरबाट ग्यास र मल उत्पादन सुरु गरेको छ । उक्त प्लाण्टको दैनिक ५० टन फोहर व्यवस्थापन गर्न सक्ने क्षमता रहेको छ ।
यो फोहोर प्रशोधन केन्द्र करिब २४ करोड रुपैयाँको लागतमा तयार भएको हो । धरानको पानवारीमा रहेको यो प्लान्ट करिब १६ कठ्ठा जमिनमा फैलिएको छ । यो प्लान्ट पूर्ण क्षमतामा संचालन हुँदा यसले दैनिक १ हजार २०० केजी बायोग्यास र ४०० केजी मल उत्पादन गर्न सक्छ ।
धरानले दैनिक ३०० किलोग्राम हाराहारी बायोग्यास उत्पादन गरिरहेको भेन्चर वेस्ट टू इनर्जी कम्पनीका चेयरम्यान जिनेश श्रेष्ठले बताए । उनले धरानमा अहिले दैनिक ट्रिपर र ट्याक्टरमा गरेर १० देखि १२ गाडी फोहोर संकलन भइरहेको बताए ।
यस्तै प्लान्टबाट दैनिक २०० केजी मल र ३ देखि ४ हजार लिटर लिक्वीड मल समेत उत्पादन भइरहेको छ । जहाँ प्लास्टिक, बोटल, मेटल, सिसा, पेपर सबैलाई छुट्याउने गरिन्छ । त्यहाँ रिसाइकल हुने, सिसाको बोटल, प्लास्टिक सबै छुट्यााएर कवाडीमा बेचिन्छ ।

छुट्टाइएको फोहोरमा २० देखि २५ प्रतिशत फोहोर रिसाइकल पनि नहुने किसिमका हुन्छन् । त्यसलाई मेसिनमा राखेर कम्पनीले नष्ट गर्दै आएको छ । भेञ्चर वेस्ट टू इनर्जी प्रालिले ११५ रुपैयाँ प्रतिकेजीमा सीएनजी ग्यास विक्री गर्दै आएको छ ।
उपत्यकाको फोहोरबाट वार्षिक ४ अर्ब आम्दानी गर्न सकिने
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा धरान उपमहानगरपालिकाको मोडल अपनाउने हो भने वार्षिक झन्डै साढे ३ अर्बदेखि ४ अर्ब रुपैयाँसम्म आम्दानी गर्न सकिने जानकारहरु बताउँछन् ।
उपत्यकामा दैनिक १२०० टन फोहोर संकलन हुन्छ भने काठमाडौं महानगरपालिकामा मात्रै ५५० टन फोहोर जम्मा हुन्छ । सो फोहोरबाट धरानको जस्तै ग्यास र मल उत्पादन गरे वार्षिक ४ अर्ब हाराहारी आम्दानी गर्न सकिने श्रेष्ठ बताउँछन् ।
काठमाडौं उपत्यकाबाट दैनिक १२ सय टन फोहोर संकलन हुन्छ । यस फोहोरबाट झण्डै ६० हजार केजीे वायोग्यास उत्पादन गर्न सक्ने सम्भावना रहेको श्रेष्ठ बताउँछन् । धरानले प्रतिकेजी वायोग्यासको मूल्य ११५ रुपैयाँमा विक्री गरिरहेको छ । सो आधारमा उपत्यकाको फोहोरबाट दैनिक ६९ लाख रुपैयाँ र वार्षिक २ अर्ब ५१ करोडको वायोग्यास उत्पादन गर्न सकिन्छ ।
त्यसैगरी, उपत्यकाको फोहोरबाट दैनिक १२ हजार केजी प्रांगरिक मल र १ लाख २० हजार लिटर लिक्वीड मल उत्पादन गर्न सकिन्छ । सो मल विक्री गरेर वार्षिक झन्डै ५० करोड बढी आम्दानी गर्न सकिने बताइन्छ । त्यस्तै, नकुहिने फोहोरबाट पनि आम्दानी गर्न सकिन्छ ।
धरानले संकलन गर्ने ५० प्रतिशत फोहोरबाट अर्ग्यानिक कम्पोनेन्टको मल उत्पादन गर्छ । जसबाट प्राङगारिक मल र लिक्वीड मल गरी दुई प्रकारको मल उत्पादन हुन्छ । उक्त मल युरिया मलभन्दा धेरै राम्रो रहेको श्रेष्ठले बताए ।
उपत्यकामा समेत संकलन हुने अर्ग्यानिक कम्पोनेन्टका फोहोरबाट यसरी मल उत्पादन गरी कृषि योग्य जमिन भएका क्षेत्रमा वितरण गर्न सकिने छ । यूरीया मलको तुलनामा लिक्वीड मल धेरै गुणा अर्गानीक र धेरै उत्पादन दिन सक्ने क्षमता भएको मलको रुपमा रहेको छ ।

नेपालमा वार्षिक साढे ५ लाख मेट्रिकटन रासायनिक मल आवश्यक हुने गरेको छ । सरकारले मल आयातका लागि अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवमा १५ अर्ब रुपैयाँ बराबरको मल आयात भएको छ ।
सिसडोलले १७ वर्ष थेग्यो, अब बञ्चरेडाँडामा विसर्जन
३ वर्षका लागि भनेर सन् २००५ मा सिसडोल ल्यान्डफिल साइट प्रयोग गरिएको थियो । उक्त क्षेत्रको क्षमता पूरा भएपछि आलेटारमा ४ वर्ष फोहोरको व्यवस्थापन भएको थियो । आलेटारको पनि भरिएपछि पुनः सिसडोलको क्षमता विस्तार गरेर प्रयोगमा ल्याइएको थियो । सिसडोलको विस्तारित क्षमताले समेत धान्न नसक्ने फोहोर जम्म हुँदा पनि महानगरले १७ वर्षदेखि सोही स्थानमा फोहोर फाल्दै आएको छ ।
करिब ४६२ रोपनी क्षेत्रमा फैलिएको यो ल्यान्डफिल साइट अहिले फोहोरको पहाडको रुपमा स्थापना भएको छ । सरकारले फोहोरबाट विद्युत र मिथेल ग्यास उतपादन गर्नका लागि भनेर प्रारम्भीक अध्ययन समेत गरेको थियो ।
उक्त फोहोरबाट वर्षेनी ४० हजार टन मल उत्पादन गर्न सकिने अनुमान गरिएको छ । फोहोरबाट १ करोड ४१ लाख १७ हजार ६२० क्युविक मिटर मिथेन ग्यास समेत निकाल्न सकिने अनुमान गरिएको थियो । साथै ५ लाख क्युबिक मिटर ग्यास पनि उत्पादन गर्न सकिने अध्ययनले देखाएको थियो ।
यस्तै काठमाडौं महानगरपालिका बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न सुरु गर्ने भएको छ । नुवाकोट–धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडा ल्याण्ड फिल्ड साइट सामान्य अवस्थामा २५ वर्ष र स्यानेटरी ल्याण्ड फिल्ड गर्दा कम्तीमा ५० वर्षसम्म फोहर व्यवस्थापन गर्न सकिने गरी निर्माण गरिएको छ ।
बन्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते १ वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँ लगानीमा विसर्जन स्थल निर्माण सुरु भएको बन्चरेडाँडा निर्माण २ वर्षमा बल्लतल्ला सम्पन्न भएको हो ।