काठमाडौं । पहिलो पटक निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात भएको छ । ग्रीन भेन्चर्स लिमिटेडको लगानी रहेको लिखु–४ बाट उत्पादित ५२.४ मेगावाट बिहीबार रातिदेखि भारत निर्यात भएको हो ।
यसअघि सरकारी लगानीमा निर्माण भएका ५ वटा जलविद्युत् आयोजनाबाट बिजुली निर्यात भएको थियो । यसअघि सरकारी लगानीका मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, त्रिशुली, देवीघाट र कालीगण्डकीबाट उत्पादित बिजुली भारत गइरहेको थियो ।
योसँगै अब नेपालबाट बिजुली विक्रीका लागि अनुमति पाएका ६ वटै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली निर्यात हुन थालेको छ । नेपालले ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स)मा बेच्नका लागि अनुमति पाएको छ ।
नेपालले २०७८ कात्तिक १७ गते पहिलो चरणमा २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट गरी कुल ३९ मेगावाट बिजुली बेच्न अनुमति पाएको थियो ।
त्यस्तै, दोस्रो चरणमा गत चैतमा १४४ मेगावाट क्षमताको कालीगण्डकी, ६९ मेगावाटको मस्र्याङ्दी, ७० मेगावाटको मध्यमस्र्याङ्दी र ५२ मेगावाटको लिखु–४ गरी थप ३२५ मेगावाट बिजुली बेच्न भारतले अनुमति दिएको थियो । अहिले नेपालले अनुमति पाएका ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली बेच्न थालेको छ ।