काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । जेठ महिनामा इन्धनको मूल्य वृद्धि गरिएको यो तेस्रो पटक हो ।
निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो ।
मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।
बुधबारसम्म निगमले आइओसीलाई २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएकाले मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ ।
निगमले गत सातामात्र पेट्रोल, डिजेल/मट्टितेलको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो । मूल्य समायोजनपछि पनि पाक्षिकरुपमा ३ अर्ब ८९ करोड घाटा हुने निगमले जनाएको छ ।
