फोहरबाट मोहर : गाडी चल्ने ग्यास उत्पादन गर्दै धरान उपमहानगर

काठमाडौं । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन एक प्रमुख समस्या बन्दै गएको छ । उचित फोहर व्यवस्थापन हुन नसक्दा देशका अधिकांश ठूला सहरका सडका फोहरको थुप्रो देखिन्छ ।

 

झन् देशको संघीय राजधानी समेत रहेको काठमाडौंमा त महिनौंसम्म सडकमै फोहर थुप्रिने गरेको छ । जसले पैदल यात्रु र सवारीसाधन आवतजावतमा समेत समस्या पार्ने गरेको छ ।

 

जति सरकार फेरिए पनि काठमाडौंको फोहरको दीर्घकालीन व्यवस्थापन हुन सकेको छैन । सरकारको अदूरदर्शीता र वेवास्ताले फोहर व्यवस्था पनि किनै जटिल र चुनौतीपूर्ण समेत बन्दै गएको छ ।

 

ठूला सहरी क्षेत्रमा टाउको दुखाई बनेको फोहरलाई केहीले भने मोहर बनाउन सफल भएका छन् । यसकै पछिल्लो उदाहरण हो सुनसरीको धरान उपमहानगरपालिका ।

 

यहाँ फोहरबाट सीएनजी (कम्प्रेस्ड नेचुरल ग्यास) र कम्पोष्ट मल उत्पादन गरिन्छ । जसले एकातिर सहजै फोहर व्यवस्थापन भएको छ भने अर्कोतर्फ त्यही फोहरबाट आम्दानी समेत हुने गरेको छ ।

 

लगानी बोर्डले मध्यस्थता गर्दै सुरू भएको ‘भेन्चर वेस्ट टू इनर्जी’ कम्पनीले आफ्नो प्लान्ट संचालनमा ल्याएसँगै सीएनजी ग्यासको विक्री सुरू भएको हो ।

 

दैनिक ५० टन फोहर व्यवस्थापन गर्न सक्ने क्षमता रहेको यो प्लान्टबाट ग्यासको साथै मल पनि उत्पादन सुरू भएको छ । कम्पनीले यहाँ उत्पादन गरेको सीएनजी ग्यास तीनपाङ्ग्रे टेम्पोमा विक्री सुरू गरेको हो ।

 

अहिले धरानमा संचालनमा रहेका टेम्पोमा सीएनजी र पेट्रोल दुवै प्रयोग गर्न मिल्नेगरी बनाइएको छ । पेट्रोलको तुलनामा सीएनजी निकै सस्तो पर्ने भएकाले टेम्पो चालकहरूको रोजाइमा सीएनजी पर्न थालेको छ ।

 

भेञ्चर वेस्ट टू इनर्जी प्रालिले ११५ रुपैयाँ प्रति केजीमा सीएनजी ग्यास विक्री गर्दै आएको छ । यो फोहोर प्रशोधन केन्द्र करिब २४ करोड रुपैयाँको लागतमा तयार भएको हो । धरानको पानवारीमा रहेको यो प्लान्ट करिब १६ कठ्ठा जमिनमा फैलिएको छ । यो प्लान्ट पूर्ण क्षमतामा संचालन हुँदा यसले दैनिक १ हजार २०० केजी बायोग्यास र ४०० केजी मल उत्पादन गर्न सक्छ ।

 

सीएनजी कारको सम्भावना बढ्ने

 

यहाँ उत्पादन भएको बायोग्यास निकै व्यवस्थित तरिकाले विक्री सुरू भएको छ । यहाँ उत्पादन भएको ग्यास पूर्वका ठूला सहर धरान, इँटहरी, दमक, विराटनगर र विर्तामोडको लागि नै ठिक्क हुने अवस्था आउने कम्पनीले विश्वास लिएको छ ।

 

अहिले टेम्पोहरूले प्रयोग गर्दै आएको ग्यास सीएनजीबाट चल्ने कार आउन थालेसँगै यसको प्रयोग थप बढ्ने देखिन्छ । अहिले ग्यासको अभावमा सीएनजी कार नेपाल आएको थिए ।

 

वातावरणमैत्री सीएनजी कारहरू चाँडै नेपाल आउने र काठमाडौं तथा पोखरा जस्ता ठूला सहरले फोहोर व्यवस्थापन गर्दा ग्यास र मल निकाल्ने हो भने ठूलो परिमाणमा पेट्रोलियम पदार्थको आयात रोक्न सकिने देखिएको छ ।

बजेटमा गरिएका व्यवस्थाले सेयर बजारमा कति आउँछन् नयाँ कम्पनी ? Read Previous

बजेटमा गरिएका व्यवस्थाले सेयर बजारमा कति आउँछन् नयाँ कम्पनी ?

नेप्सेमा आइएमई जनरलको हकप्रद सेयर सूचीकृत Read Next

नेप्सेमा आइएमई जनरलको हकप्रद सेयर सूचीकृत