काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (जेठ १८ गते)देखि ५० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र २०८४’ विक्रीमा ल्याएको छ । बैंकले ५ वर्ष अवधिको उक्त बचतपत्र विक्रीमा ल्याएको हो ।
राष्ट्र बैंकले उक्त बचतपत्रको ब्याजदर १२.५ प्रतिशत तोकेको छ । यो झन्डै हाल वाणिज्य बैंकहरुले निक्षेप दिँदै आएको ब्याजदरभन्दा १.४७ प्रतिशत बढी हो । वाणिज्य बैंकहरुले हाल निक्षेपमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका छन् ।
यस बचतपत्रको ब्याज भुक्तानी ६/६ महीनामा हुन्छ । इच्छुक लगानीकर्ताले असार ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले कम्तीमा १० हजारदेखि अधिकतम आफूले चाहेजति लगानी गर्न सक्नेछन् । यो बचतपत्रमा वैदेशिक रोजगारीमा गएका र विदेशबाट फर्केको ६ महिना नबितेका व्यक्ति वा उसको परिवारका सदस्य (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा र छोरी मात्र)ले आवेदन दिन सक्नेछन् ।
यस्तो बचतपत्रको धितोमा अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण समेत लिन सकिन्छ। सरकारको लागि आन्तरिक ऋण उठाउन विभिन्न खालका बचतपत्र जारी गर्दै आएको छ ।